बलिउड फिल्म 'द केरल स्टोरी' सन् २०२३ मा धेरै कमाउने दोस्रो हिन्दी फिल्म बनेको छ।
यो फिल्म शाहरूख खानको 'पठान' पछि सबैभन्दा धेरै कमाउने फिल्म बनेको हो। 'पठान' ले विश्वव्यापी रूपमा १ हजार करोडमाथि कमाइ गरेको छ। मंगलबार ९ करोड ६५ लाख भारू कमाउँदै 'द केरल स्टाेरी' ले १२ दिनमा १५६ करोड ६९ लाख भारू जम्मा गरेको छ। यो फिल्म ३० देखि ३५ करोड लगानीमा बनेको फिल्म हो।
अहिलेसम्म ४ वटा हिन्दी फिल्मले १०० करोड भारूमाथि कमाइ गरेका छन्। 'द केरल स्टोरी' ले रणवीर कपूरको फिल्म 'तु झुठी मै मक्कार' लाई पछि पारेको छ। रणवीरको फिल्मले १४७ करोड २८ लाख भारू कमाएको थियो।
चौथोमा सलमान खानको फिल्म 'किसीका भाइ किसीकी जान' रहेको छ। १८० करोड लगानीमा बनेको सलमानको फिल्मले १०९ करोड २९ लाख कमाएको छ।
प्रदर्शनअघि फिल्मको खासै चर्चा नभए पनि प्रदर्शनपश्चात 'द केरल स्टोरी' ले बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ। विवादित विषयमा फिल्म बनाएको भन्दै भारतका विभिन्न राज्यमा प्रतिबन्ध लगाइएको छ।
फिल्ममा हिन्दु युवतीलाई मुस्लिम धर्मान्तरण गरेर इस्लामिक स्टेट अफ इराक र सिरिया (आईएसआईएस) जस्ता आतंकवादी संगठनमा कसरी भर्ना गरिएको छ भन्ने कथा देखाएको छ।
सुदीप्तो सेनले निर्देशन गरेको फिल्ममा अदा शर्मा, योगीता बिहानी, सोनिया बलानी, सिद्धी अडलानी, विजय कृष्ण, प्रणय पचौरी, प्रनव मिश्रालगायत कलाकारको अभिनय रहेको छ।