७६ औं कान्स फिल्म फेस्टिभल सुरू भइसकेको छ।
मंगलबारदेखि फ्रान्सको रिभेरिया सहरमा फेस्टिभल सुरू भएको हो। यस फेस्टिभलमा बलिउड अभिनेत्री सारा अली खान, ईशा गुप्ता र पूर्वमिस विश्व सुन्दरी मानुषी छिल्लरले डेब्यू गरेका छन्।
बलिउड अभिनेत्री सारा लेहेंगा लगाएर कान्सको रातो कार्पेटमा पुगेकी थिइन्। उक्त तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै साराको चर्चा भइरहेको छ।
रातो कार्पेटमा ब्रूट इन्डियासँग कुराकानी गर्दै साराले भनिन्, ‘हेलो नमस्ते! म थोरै नर्भस छु। मैले यहाँ आउने सपना देखेको थिएँ, म यहाँ छु भनेर विश्वास लागिरहेको छैन। मैले सन्दीप खोसलाले बनाएको लेहेंगा लगाएको हुँ।’
त्यस्तै मानुषी र ईशाले सेतो गाउन लगाएका थिए। उनीहरूको लुक्सलाई पनि दर्शकले मन पराएको प्रतिक्रिया दिइरहेका छन्।