बलिउड फिल्म 'द केरल स्टोरी' सय करोड क्लबमा समावेश भएको छ।
शनिबार १९ करोड ५० लाख भारू कमाउँदै फिल्म सय करोड क्लबमा समावेश भएको हो। हिन्दी फिल्म बजार विश्लेषक तरण आर्दशका अनुसार फिल्मले नौ दिनमा ११२ करोड ९९ लाख भारू कमाएको छ।
८ करोड ३ लाख भारूको ओपनिङ गरेको फिल्मले दोस्रो दिन ११ करोड २२ लाख, तेस्रो दिन १६ करोड ४ लाख, चौथो दिन १० करोड ७ लाख, पाँचौं दिन ११ करोड १४ लाख, छैठौं दिन १२ करोड, सातौं दिन १२ करोड ५ लाख र आठौं दिन १२ करोड २३ लाख कमाइ गरेको छ।
प्रदर्शनअघि फिल्मको खासै चर्चा नभए पनि प्रदर्शनपश्चात फिल्मले बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ। विवादित विषयमा फिल्म बनाएको भन्दै भारतका विभिन्न राज्यमा प्रतिबन्ध लगाइएको छ।
फिल्ममा हिन्दु युवतीलाई मुस्लिम धर्मान्तरण गरेर इस्लामिक स्टेट अफ इराक र सिरिया (आईएसआईएस) जस्ता आतंकवादी संगठनमा कसरी भर्ना गरिएको छ भन्ने कथा देखाएको छ।
सुदीप्तो सेनले निर्देशन गरेको फिल्ममा अदा शर्मा, योगीता बिहानी, सोनिया बलानी, सिद्धी अडलानी, विजय कृष्ण, प्रणय पचौरी, प्रनव मिश्रालगायत कलाकारको अभिनय रहेको छ।