भारतीय गायक अरमान मलिकले बलिउडमा हुने राजनीतिका कारण फिल्ममा गीत गाउन छाड्ने निर्णय लिएको बताएका छन्।
उनले राज शामनीको प्राेडकास्टमा आफूलाई बिना कारण गीतबाट हटाएको समेत बताएका छन्।
‘एक समय मलाई बिना कारण गीतबाट हटाइन्थ्यो। यस्तो कुराबाट मलाई निकै डर लाग्न थाल्यो। म राम्रो गायक होइन कि भन्ने लाग्थ्यो। तर मलाई आफू कस्तो गायक हुँ भन्ने राम्रोसँग थाहा थियो। यदि मैले गीत राम्रो नगाएको भए स्वीकार गर्थें तर राजनीतिक कारणले हटाइन्थ्यो। जुन मलाई स्वीकार थिएन,’ उनले भने।
उनले फिल्ममा गीत गाएबापत गायकले पारिश्रमिक समेत नपाउने बताए।
‘हामी गीतसंगीतलाई माया गछौं र पारिश्रमिक हाम्रो आवश्यकता हो। तर हाम्रो पारिश्रमिकको बारेमा कुराकानी समेत हुँदैन। फिल्मकर्मीहरू गीत हिट भयो भने गायकले लाइभ शोबाट पैसा कमाइहाल्छ नि भन्थे,' उनले भने, 'हामीलाई स्टुडियोमा आउन फ्री हुनुहन्छ भनेर सोधिन्छ। हामी जान्छौं, गीत गाउँछौं र अर्का दिन अर्कै गायकले गीत गाउँछ। यो यस्तो कहानी हो जुन हरेक व्यक्तिलाई थाहा छ।’
उनले गोलमाल अगेनमा ‘हम नहीं सुध्रेगे’, राधे श्याममा ‘जान हे मेरी’, हेट स्टोरी ३ मा ‘तुम हे आप्ना बनानेकी कसम’, कबिर सिंहमा ‘पहेला प्यार’, सनम रेमा ‘हुवा हे पहेली बार’ लगायत थुप्रै गीतमा स्वर दिएका छन्।