बलिउड अभिनेता सलमान खानको फिल्म 'किसीका भाइ किसीकी जान' सय करोड क्लबमा समावेश भएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार दोस्रो आइतबार ४ करोड ३५ लाख भारू कमाउँदै फिल्म सय करोड क्लबमा समावेश भएको हो। भारतीय बक्स अफिसमा प्रदर्शन भएको १० दिनमा फिल्मले १०० करोड २८ लाख भारू कमाएको छ।
सन् २०२३ मा अहिलेसम्म तीन बलिउड फिल्म सय करोड क्लबमा समावेश भएको छ। शाहरूख खानको फिल्म ‘पठान’ र रणवीर कपूर र श्रद्धा कपूरको फिल्म ‘तू झुठी मे मक्कार’ पछि यो फिल्मले सय करोड कमाएको हो।
यो फिल्मले १०० करोड कमाए पनि दर्शकहरूले दुःख व्यक्त गरेका छन्। फिल्मले १०० करोड कमाउन लामो समय लगाएको भन्दै दर्शकले दुःख व्यक्त गरेका हुन्।
यो फिल्मले बक्स अफिसमा कमजोर ओपनिङ गरेको थियो। फिल्मले १५ करोड ८१ भारूको ओपनिङ गरेको हो।
सन् २०१० मा सलमानको फिल्म ‘दबंग’ ले १४ करोड ५० लाख भारूको ओपनिङ गरेको थियो। त्यसपछि इदमा रिलिज हुने सलमानका फिल्ममा सबैभन्दा कमजोर ओपनिङ गर्ने फिल्म ‘किसीका भाइ किसीकी जान’ बनेको छ।
इदमा चार वर्षपछि सलमानको फिल्म ‘किसीका भाइ किसीकी जान’ रिलिज भएको हो।
फरहाद सम्जीले निर्देशन गरेको फिल्म ‘किसीका भाइ किसीकी जान’ मा सलमान खान, पूजा हेगडे, दग्गुबती वेंटकेश, राघव जुयाल, शहनाज गिल, पलक तिवारी, जस्सी गिल, सिद्धार्थ निगमलगायत कलाकारको अभिनय छ। फिल्मको कथा सलमानले तयार पारेका हुन्।
फिल्म निर्माणमा सलमान खान फिल्म्स ब्यानरले जिस्टुडियोसँग सहकार्य गरेको छ।