बलिउड अभिनेता शाहरूख खानको फिल्म 'जवान' निर्माण घोषणा गरिएसँगै चर्चामा छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो फिल्म जुन २ मा प्रदर्शन हुनेछ।
शाहरूखको फिल्म ‘जवान’ दक्षिण भारतीय अभिनेता कमल हसनको फिल्म ‘ओरू कैदियिन डायरी’ बाट प्रभावित हुनेछ। यसै फिल्मलाई सन् १९८६ मा अमिताभ बच्चनको फिल्म ‘आखिरी रास्ता’ नाममा रिमेक गरिएको थियो।
दुवै फिल्म बक्स अफिसमा हिट सावित भएको थियो। फिल्ममा अमिताभ बच्चन र कमल हसन बुवा र छोराको दोहोरो भूमिकामा देखिएका थिए। यी दुवै फिल्म बदलाको भावनामा आधारित थियो।
जवानका निर्देशक एटली कुमार कमल हसनको प्रशंसक हुन् तर यसबारेमा निर्माण टिमले कुनै आधिकारिक जानकारी दिएका छैनन्।
फिल्ममा शाहरूख खानसँगै नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रालगायत कलाकारको अभिनय रहने छ।
शाहरूख पछिल्लो समय फिल्म ‘पठान’ मा देखिएका थिए। यो फिल्मले विश्वव्यापी रूपमा १ हजार करोडमाथि कमाइ गरेको थियो।
शाहरूख खान राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ मा पनि देखिनेछन्। यो फिल्म डिसेम्बरमा प्रदर्शन हुनेछ।