बलिउड अभिनेत्री जिया खान आत्महत्या प्रकारणमा सिबिआई अदालतले सुरज पंचोलीलाई सफाइ दिएको छ।
प्रेमी सुरजमाथि जियालाई आत्महत्या दुरुत्साहन गरेको आरोप लागेको थियो। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार सुरजविरूद्ध प्रमाण नपुगेको भन्दै अदालतले सफाइ दिएको हो।
जियाले सन् २०१३ मा मुम्बईस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेकी थिइन्। यस घटनामा १० वर्षपछि फैसला गरिएको हो। जियाको आमा राबिया खानले अभिनेता सुरज पंचोलीविरूद्ध उजुरी दिएपछि पक्राउ गरिएको थियो। केही समयपछि सुरज जमानतमा छुटेका थिए।
जिया उक्त घरमा आमा र बहिनीको साथमा बस्दै आएकी थिइन्। मृत्यु भएको दिन उनी घरमा एक्लै थिइन्। जियाकी आमा र बहिनी घर फर्किंदा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
प्रहरीले जियाको घरबाट ६ पेजको सुसाइड नोट फेला पारेको थियो जसमा सुरजसँग सम्बन्ध बिग्रिएपछि डिप्रेशनमा पुगेको उल्लेख गरिएको थियो।
जियाले सन् २००७ मा फिल्म ‘निशब्द’ बाट अभिनयमा डेब्यू गरेकी थिइन्। यस फिल्ममा अमिताभ बच्चनको मुख्य भूमिका थियो। त्यसपछि उनले अमिर खानको ‘गजनी’ र अक्षय कुमारको ‘हाउसफुल’ मा समेत अभिनय गरेकी थिइन्।