दिल्ली उच्च अदालतले शाहरूख खानको फिल्म 'जवान' को भिडिओ लिक प्रकरणमा फैसला गरेको छ।
अदालतले सबै सामाजिक सञ्जाल प्लेटफर्मबाट 'जवान' को लिक क्लिप हटाउन आदेश दिएको हो। मंगलबार अदालतले वेबसाइट, केबल टिभी प्लेटफर्म, घर सेवा र अन्य प्लेटफर्मलाई जवानको प्रतिलिपि अधिकार उल्लंघन गर्नबाट रोक लगाएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख छ।
यो फिल्म २ जुनमा प्रदर्शन गर्न तयारी छ। फिल्मको ट्रेलर सार्वजनिक हुनुअघि नै सामाजिक सञ्जालमा 'जवान' का दुई भिडिओ लिक भएका छन्।
छायांकन स्थलबाट भिडिओ लिक भएपछि शाहरूख र गौरी खानको प्रोडक्सन कम्पनी रेड चिलिजले दिल्ली उच्च अदालतमा उजुरी दिएका थिए।
अदालतले युट्युब, गुगल, ट्विटर र रेडिटजस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूलाई जवान फिल्मको प्रतिलिपि अधिकार सामग्री देखाउनेहरूविरुद्ध कडा कारबाही गर्न निर्देशन दिएको छ।
जस्टिस सी हरि शंकरले इन्टरनेट सेवा प्रदायकहरूलाई फिल्मसँग सम्बन्धित सामग्री देखाउने च्यानलहरूलाई ब्लक गर्ने आदेश दिएका छन्।
एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूख र नयताराको मुख्य भूमिका छ।