बलिउड अभिनेता सलमान खानको फिल्म 'किसीका भाइ किसीकी जान' गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले चार दिनमा ७८ करोड ३४ लाख भारू कमाइ गरेको छ।
१५ करोड ८१ भारूको ओपनिङ गरेको फिल्मले दोस्रो दिन २५ करोड ७५ लाख, तेस्रो दिन २६ करोड ६१ लाख र चौथो दिन १० करोड १७ लाख कमाइ गरेको हो।
सन् २०१० मा सलमानको फिल्म ‘दबंग’ ले १४ करोड ५० लाख भारूको ओपनिङ गरेको थियो। त्यसपछि इदमा रिलिज हुने सलमानका फिल्ममा सबैभन्दा कमजोर ओपनिङ गर्ने फिल्म ‘किसीका भाइ किसीकी जान’ बनेको छ।
इदमा चार वर्षपछि सलमानको फिल्म ‘किसीका भाइ किसीकी जान’ रिलिज भएको हो।
फरहाद सम्जीले निर्देशन गरेको फिल्म ‘किसीका भाइ किसीकी जान’ मा सलमान खान, पूजा हेगडे, दग्गुबती वेंटकेश, राघव जुयाल, शहनाज गिल, पलक तिवारी, जस्सी गिल, सिद्धार्थ निगमलगायत कलाकारको अभिनय छ। फिल्मको कथा सलमानले तयार पारेका हुन्।
फिल्म निर्माणमा सलमान खान फिल्म्स ब्यानरले जिस्टुडियोसँग सहकार्य गरेको छ।