भारतीय चर्चित र्यापर हनी सिंहमाथि अपहरण र मारपिटको आरोप लागेको छ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार एक कार्यक्रम व्यवस्थापन कम्पनीले उनीमाथि अपहरण र मारपिटको आरोप लगाएको हो।
हनी सिंहले सामाजिक सञ्जालमार्फत आफूलाई नराम्रो देखाउन उक्त आरोप लगाएको बताएका छन्।
‘ममाथि लागेको सबै आरोप झुटा हुन्। मेरो र मेरो कम्पनीको आरोप लगाउने व्यक्तिसँग कुनै सम्बन्ध छैन। म मुम्बईको ट्राइभ भाइब कम्पनीसँग काम गरिरहेको थिएँ जुन मुम्बईको प्रतिष्ठित कम्पनी हो। यो बुक माई शोको सिस्टर कम्पनी पनि हो। मलाई जति समय दिइएको थियो, त्यति नै प्रस्तुति दिएँ। जसले यस्तो आरोप लगाए मलाई नराम्रो देखाउन गरेको हो। मेरो कानुनी समूह उनीविरूद्ध मानहानीको मुद्दा दर्ता गराउने तयारीमा छ,’ उनले लेखेका छन्।
मुम्बई पुलिसका अनुसार विवेक रमनले उजुरी दर्ता गरेका हुन्। हनी सिंह र उनका साथीले आफूलाई अपहरण गरेर मारपिट गरेको उनको आरोप छ।
विवेकले १९ अप्रिलमा उजुरी दर्ता गराएका हुन्। उनले १५ अप्रिलमा मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्समा एक कार्यक्रम आयोजना गरेका थिए। यस कार्यक्रममा हनी सिंह सहभागी थिए। पैसा लेनदेनमा विवाद भएपछि हनी र उनका साथीले रमनलाई अपहरण गरेको बताइएको छ।