भारतीय निर्देशक यश चोपडाकी श्रीमती पामेला चोपडाको मृत्यु भएको छ।
उनको बिहीबार बिहान मृत्यु भएको हो। उनी आफ्नो श्रीमान यश चोपडाको प्रोडक्सन हाउस यशराज फिल्म्समा काम गरिरहेकी थिइन्। उनी लेखक र डिजाइनरको रूपमा काम गर्थिन्।
उनी आदित्य चोपडा र उदय चोपडाकी आमा हुन्। उनले सन् १९७० मा यश चोपडासँग विवाह गरेकी थिइन्। श्रीमानको मृत्यु भएको करिब ११ वर्षपछि उनको मृत्यु भएको हो।
यशराज फिल्म्सले पामेलाको मृत्यु भएको जानकारी दिदै सामाजिक सञ्जालमा लेखेको छ, ‘मन भारी बनाउँदै ७४ वर्षीय पामेला चोपडाको मृत्यु भएको जानकारी गराउछौं। उनको अन्तिम संस्कार मुम्बईमा बिहान ११ बजे भयो।’
यश चोपडाले निर्देशन गरेको फिल्म ‘कभी कभी’ को कथा पामेलाले लेखेकी हुन्। उनी अमिताभ बच्चन, जया बच्चन र रेखाको फिल्म ‘सिलसिला’ को डिजाइनर थिइन्।
उनी पछिल्लो समय नेटफ्लिक्सको सिरिज ‘द रोमान्टिक्स’ मा देखिएकी थिइन्। उक्त सिरिजमा उनले आफ्ना श्रीमान यशराज, उनको काम गर्ने तरिका र व्यक्तिगत जीवनको बारेमा कुरा गरेकी थिइन्।