बलिउड अभिनेता सलमान खानको फिल्म ‘किसीका भाइ किसीकी जान’ २१ अप्रिलदेखि प्रदर्शन हुँदैछ। हालै फिल्मकी अभिनेत्री पलक तिवारीले सलमान खानको सेटमा शरीर ढाक्ने लुगा लगाउनु पर्छ भन्दै एक बयान दिएकी थिइन्। जसको शहनाज गिलले खण्डन गरेकी छन्।
पलकले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘म फिल्म ‘अन्तिम’ मा सलमान सरसँग एक विज्ञापन गरिरहेकी थिएँ। त्यतिबेला मैले सलमान सरको सेटमा एक नियम थाहा पाएँ। त्यहाँ महिलाले घाँटीसम्म आउने लुगा लगाउनु पर्ने रहेछ।’
यसै बयानको अभिनेत्री शहनाज गिलले खण्डन गरेकी छन्, ‘यस्तो कुनै नियम छैन। म त जहिलै सेक्सी, घाँटीभन्दा मुनि आउने लुगा लगाउँछु। मैले ट्रेलर सार्वजनिक कार्यक्रममा पनि त्यस्तै लुगा लगाएकी थिएँ। सलमान सरको यस्तो कुनै नियम छ जस्तो लाग्दैन।’
फरहाद सम्जीले निर्देशन गरेको फिल्ममा सलमान, शहनाज र पलकसँगै पूजा हेगडे, राघव जुयाल, जस्सी गिल सिद्धार्थ निगमलगायत कलाकारको अभिनय छ। केही समयअघि सार्वजनिक भएको ट्रेलरलाई दर्शकले रूचाइरहेका छन्।
फिल्म निर्माणमा सलमान खान फिल्म्स ब्यानरले जिस्टुडियोसँग सहकार्य गरेको छ।
सलमान यो फिल्मपछि ‘टाइगर ३’ मा देखिनेछन्। दुवै फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्ने भारतीय फिल्मकर्मीको आशा छ।