रंगकर्मी सरिता गिरी रंगकर्मी गुरू सुनील पोखरेलसँग टीका थाप्न थाली बोकेर अगाडि उभिइन्।
सुनीलले निधारमा टीका टाँस्दै भने, ‘ल यही वर्ष बिहे गरेस्!’
‘बिहे नजोड्नु न,’ हाँस्दै गिरीले भनिन्, ‘आशिर्वाद दिँदा त थिएटरकै कुरा गर्नु नि। कति बिहेको कुरा मात्रै।’
‘हैन,’ पोखरेलले ठट्टा गरे, ‘योपाली बिहे गर्नैपर्छ।’
‘म यही वर्ष थिएटर बनाउँछु, तिमीहरुले काम गर्नुपर्छ भन्नुछैन,’ गिरीले भनिन्।
यी दुईको संवाद सुनिरहेकाहरु गलल हाँसे।
सुनील पोखरेलको अगुवाईमा खुलेको गुरूकुल नाट्यसंस्थाको नाटकघर बन्द भएको सात वर्ष बित्नै आँट्यो। तर, अहिलेसम्म अर्को नाटकघर खुलेको छैन। बन्द भएको करिब सात वर्षअघि गुरूकुलले दसैंको कोजाग्रत पूर्णिमाका दिन नयाँ–पुराना रंगकर्मी भेला गरेर टीका लगाउने चलन सुरु गरेको थियो। गुरूकुल त बन्द भयो, तर चलन भने उनकै चेलाहरु सम्मिलित नाट्यसंस्था मण्डला थिएटरले कायम राख्यो।
अनामनगरस्थित थिएटरले यसपाली भने आफ्नो आँगनमा अग्रजहरुबाट टीका थाप्ने कार्यक्रम चलाएन। तर सहकार्यमा मण्डलामै नाटक गरिरहेका सुलक्षण भारती र सिर्जना अधिकारीको जोडीले खोल्न लागेको नयाँ नाटकघर ‘पुरानो घर’ को उद्घाटनसँगै नयाँ–पुराना रंगकर्मी भेला भएर टीका थाप्ने कार्यक्रमलाई निरन्तरता दिए। भोज खाए।
मण्डलासँगको सहकार्यमा पुरानो घरले आयोजना गरेको कार्यक्रममा टीका लगाइदिनेहरुमा थिए, संस्कृतिविद सत्यमोहन जोशी, नाटककार प्रचण्ड मल्ल, साहित्यकार अभि सुवेदी र अभिनेता टीका पहारी। कार्यक्रममा थिएटर भिलेज, सर्वनाम थिएटर, शिल्पी थिएटर, मण्डला थिएटरलगायत नाट्यसंस्थामा आवद्ध रंगकर्मीहरुको उपस्थिति थियो।
टीका लगाइदिएपछि सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै संस्कृतिविद जोशीले रंगकर्मीहरुको टीका थाप्ने चलनलाई रंगमञ्चको मात्र नभई राष्ट्रिय महत्वको रुपमा हेर्नुपर्ने बताए। ‘गुरूकुलले सुरु गरेको यो चलन आजसम्म निरन्तर चलेकोमा खुसी लाग्छ,’ सुरु भएदेखि अहिलेसम्म हरेक वर्ष रंगकर्मीहरुलाई टीका लगाइदिँदै आएका जोशीले भने, ‘यो किन राष्ट्रिय महत्वको कुरा हो भने यहाँ सबै रंगकर्मी छन्। अनेक क्षेत्रका, अनेक जातिका, अनेका भाषा बोल्ने छन्। यहाँ सबै समान देखिन्छन्। कसैसँग भेदभाव छैन।’
उनले शुभकामना जसरी दिन सकिने भए पनि फरक–फरक संस्थाका रंगकर्मी भेट्दा ऊर्जा साटासाट हुने भएकाले यो चलनको महत्व अझै बढी हुने बताए।
साहित्यकार अभि सुवेदीले रंगकर्मीहरुसँगको जमघटले आफूमा ऊर्जा मिल्ने बताए। टीका थाप्ने चलन विशुद्ध रुपमा भेटघाट र भावना साटासाट गर्ने थलोको रुपमा रहेकाले आफू सधैं उपस्थित हुने उनको भनाइ थियो।
मुस्लिम समुदायका पछिल्लो छिमलका रंगकर्मी तथा फिल्म अभिनेता नाजिर हुसेनले टीका र जमरा लगाउँदै दसैंको टीका थाप्ने परम्परा आफूले आमाबाट सिकेको बताए। कलाकारको पहिलो धर्म कलाकारिता भएकाले आफूले सबै धर्मलाई समान व्यवहार गर्ने उनको भनाइ थियो।
‘मेरो घरनजिकै ममीले तिहारमा टीका थाप्न बनाउनुभएको भाइको घर छ,’ उनले भने, ‘उहाँ किरात समुदायको हुनुहुन्छ। म दसैंमा मात्र होइन, तिहारमा मामाका छोरीहरुसँग टीका थाप्छु।’
नयाँ नाटकघर उद्घाटनसँगै टीका थाप्ने कार्यक्रम राखेका रंगकर्मी सुलक्षण भारतीले कोजाग्रत पूर्णिमाको दिन टीका थाप्ने बहानामा अग्रज तथा नयाँ रंगकर्मीहरुसँगको भेटले आफूलाई ताजा महसुस गराउने बताए। ‘हामीले यो वर्षका लागि मात्र मण्डलासँगको सहकार्यमा टीका थाप्ने कार्यक्रम यहाँ राखेका हौं,’ उनले भने, ‘अर्को वर्ष कुनै नाट्यसंस्थाले गरेन भने हामी गर्छौं। यो चलनलाई निरन्तरता दिइरहन्छौं।’