शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘किङ्सम्यान द गोल्डेन सर्कल’ को बुधबार साँझ नेपाली ‘फ्यान’ माझ प्रदर्शन गरिएको छ। लबिम मलस्थित क्युएफएक्स सिनेमामा प्रदर्शन गरिएको फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले वितरण गरेको हो।
फिल्मको रेडकार्पेटमा फिल्मका पात्रहरुले लगाउने चस्मा, छाता, ह्याट, बटरफ्लाइ टाईसमेत बाँडिएको थियो। गोलाप्रथामार्फत् टिसर्टसमेत बाँडिएको थियो।
स्पाइ, एक्सन र कमेडी जनराको फिल्म अमेरिका, नेपाल र भारतसहित विश्वव्यापी रिलिज हुँदैछ।
‘हाम्रो उद्देश्य अमेरिका रिलिजसँगै नेपाल प्रदर्शन पनि गर्नु हो’ एप्पल प्रमुख जेनिस पहारीले भनिन्, ‘पछिल्लो समय बदलिएको दर्शकीय स्वाद र बजार ट्रेन्डप्रति हामी सचेत छौं। सोहीअनुसार योजना बनाइरहेका छौं।’
एप्पलले यसअघि सुपरहिरो फिल्म लोगन, एनिमेटेड ड्रामा बोब बेबी र स्पाइडरम्यान: होम कमिङ रिलिज गरेको थियो।
किङ्सम्यान मुख्यालय ध्वस्त भएपछि सिर्जित विश्वव्यापी खतरासामु जुध्न जासुस पात्रहरु मिलेर खोलेको नयाँ संस्था स्टेटमेन जोगाउन भएको संघर्ष किंग्सम्यानः गोल्डेन सर्कलको मुख्य कथावस्तु हो।
कलिन फर्थ, जुलियाना मुरे, टारोन एगर्टन, मार्क स्ट्रंग, हेल बेरी लगायतको मुख्य भूमिका छ।