समालोचक तथा लेखक अर्चना थापाको कथासंग्रह 'कठपुतला' सार्वजनिक भएको छ। सोमबार राजधानीको शिल्पी थिएटरमा आयोजित समारोहमा प्रध्यापक अभि सुवेदी, आख्यानकार नयनराज पाण्डे र राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे।
अक्षर क्रिएसन्सले बजारमा ल्याएको पुस्तकमा आठ कथा रहेका छन्। प्रत्येक कथाले बहुलविषय समेटेको लेखक थापाले बताइन्। ६ वटा कथाले समकालीन विषयवस्तु समेटेको थापाको भनाइ छ।
थापाले कथामा आफूले साहित्यमा कम प्रयोगमा आउने पुराना शब्दहरुको पुनरावृत्ति गरेको बताएकी छन्। उनको भनाइमा ती शब्दले निश्चित र नियन्त्रित अर्थका पर्खाल भत्काउँदै बहुल व्याख्याको सम्भावना दिनेछन्।
कथामा विद्यमान विभेद, पुर्वाग्रह, परम्परा जोगाउने प्रयासमा निरन्तरता पाइरहेका रुढिवादी मूल्य र मान्यता, शक्ति संघर्ष, समाज र लोकलाजको डरले जेलिएका मनोविज्ञानका साथै रामायणका कल्पित पात्रलाई वर्तमान युगको सन्दर्भमा राखेर संवाद प्रयास पनि गरिएको उनले बताइन्।
विमोचन समारोहमा बोल्दै प्राध्यापक अभि सुवेदीले पुस्तकमा समावेश कथाहरु रोचक रहेको बताउँदै उपकथाहरुले फराकिलो संसार देखाउनेछ।
'कथाभित्रका कथाले गर्दा परतभित्र अर्को परत भएजस्तो भान हुन्छ', सुवेदीले भने, 'कठपुतला कथामा रोबोटिक युगको परिकल्पना अत्यन्त रोचक प्रकारले गरिएको छ।'
लेखक अर्चना थापाको अनुसार विमोचनको दिन बिकेका पुस्तकहरुबाट प्राप्त रकम बाढी पीडित राहत कोषमा जम्मा गरिन्छ।
त्यस्तै आख्यानकार नयनराज पाण्डेले कथाबारेका शास्त्रीय परिभाषाबाट हटेर पठनको कर्मकाण्डीय ढाँचाबाट मुक्त भएर बुझ्ने प्रयास गर्ने हो भने थापाका लामा कथाहरुको संग्रह 'कठपुतला'ले पाठकलाई नयाँ खालको कथालोकमा लगेर आख्यानको नयाँ बान्कीसित परिचय गराउनेछ। 'मेरो बुझाइमा पछिल्लो एक दशक यताको आख्यान साहित्यमा उपल्लो स्थान राख्छ यो संग्रहले', पाण्डेले भनेका छन्, 'यसमा संग्रहित कथाहरूले हामीलाई चुप लाग्न दिँदैनन्, बहसमा सामेल हुन आग्रह गर्छन्। हस्तक्षेपपूर्ण लेखनका लागि लेखकलाई बधाई।'
यस्तै आयुक्त यशोदा तिम्सिनाले महिलाको विषयमा महिलाले लेखेको उत्कृष्ट किताब भएको बताइन्।