चर्चित गायक तथा स्टेज पर्फमर दुर्गेश थापा सांगीतिक प्रस्तुतिका लागि मंगलबार अमेरिका उड्ने भएका छन्।
उनी अमेरिकाका विभिन्न ११ सहरमा आयोजना हुने कार्यक्रममा प्रस्तुति दिनका लागि भोलि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
अमेरिकामा दुर्गेशको पहिलो कार्यक्रम आगामी शुक्रबार (अक्टोबर १७) अस्टिन टेक्सासबाट सुरू हुनेछ भने नोभेम्बर २२ मा डल्लास, टेक्सासमा पुगेर सकिनेछ। यस अवधिमा उनले न्यूयोर्क, बाल्टिमोर, कोलम्बस, कोलोराडो लगायतका स्थानमा ११ वटा स्टेजमा प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ।
यो टुर आरएनआर ग्रुप्स एलएलसी (रोशन पुरी), पाण्डे होम्स एलएलसी (गणेश पाण्डे), एकेबी कम्पनी एलएलसी (आशिष भडेल) द्वारा आयोजना गरिएको हो भने पिस एण्ड ब्युटी नामक गैरनाफामुखी संस्थाले साझेदारी गरेको छ। आयोजकले अग्रिम टिकटका लागि आग्रह गरेको छ। दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षा आयोजकले राखेको छ।
आयोजक रोशन पुरीले दुर्गेशलाई पहिलोपटक अमेरिकामा रहेका नेपालीहरूमाझ ल्याउन पाउँदा खुसी लागेको बताएका छन्। रोशनले यो टुरलाई एक सांगीतिक कार्यक्रम मात्र नभई फरक–फरक ठाउँमा रहेका नेपालीहरू जमघट हुने अवसर पनि भनेका छन्।
कलाकार दुर्गेशले पहिलोपटक अमेरिकाका विभिन्न सहरमा आफूले प्रस्तुति दिन पाउने कुराले खुसी लागेको बताएका छन्। साथै उनले आफूलाई सहज हुने ठाउँका कार्यक्रममा उपस्थित भइदिनका लागि दर्शकलाई आग्रह गरेका छन्। दुर्गेशले आफ्नो पछिल्लो समयका चर्चित गीत ‘दुश्मन हेरेको हेरेई’, ‘जाने भए जाम माया’ लगायत थुप्रै गीतमा प्रस्तुति दिनेछन्।
सोही अवसरमा अर्की चर्चित गायिका मेलिना राईको पनि प्रस्तुति रहने बताइएको छ। नोभेम्बर १ मा भर्जिनियामा हुने कार्यक्रममा दुर्गेशसँगै मेलिनाको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ।