दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको एक्सन फिल्म 'परिवर्तन' को फर्स्टलुक पोस्टर रिलिज भएको छ।
निर्माण टिमले सोमबार पहिलो पोस्टर सार्वजनिक गर्दै आगामी माघ ९ गते (जनवरी २३) लाई फिल्मको प्रदर्शन मिति समेत तोकेको छ।
पोस्टरमा फिल्मका मुख्य अभिनेता सुशील श्रेष्ठ एक्सन अवतारमा प्रस्तुत भएका छन्। जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को पाइन्छ। उनले हातमा बोकेको तरबारमा आगोको राप देखिन्छ। सस्पेन्स र एक्सन मिश्रित यो कथामा ‘परिवर्तन’ को यात्रामा नायकले भोग्ने संघर्षलाई केन्द्रमा राखिएको सङ्केत पोस्टरमै देखिन्छ।
पृष्ठभूमिमा उनले केही नेताजस्ता मान्छेहरूलाई रोक्ने वा सम्झाउँदै गरेको पनि देखिन्छ। यो हेर्दा देशको सिमानाको विषयमा लडाइँ परेको हो कि भन्ने अनुमान गर्न सकिन्छ।
विजय केरूङको निर्देशनमा बनेको यो फिल्मको एक्सन निर्देशन श्री श्रेष्ठले गरेका हुन्।
दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको फिल्ममा सुशील श्रेष्ठका साथमा अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायत कलाकारहरूको अभिनय छ।
फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन्। फिल्मको ब्याकग्राउन्ड म्युजिक बलिउडका कालाचरणको छ।
डिओपी शिव ढकालको छ भने फिल्मको सम्पादन बन्दे प्रसादले गरेका हुन्।