जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न असहज परिस्थितिका कारण फिल्महरूको प्रदर्शन पनि प्रभावित बनेको छ। हल ठप्प हुँदा प्रदर्शनरत फिल्म रोकिएका छन्। प्रदर्शन तयारीमा रहेका फिल्मको रिलिज स्थगित गरिएको छ।
असोज ३ गतेका लागि रिलिज तोकिएको 'जारी २' उक्त मितिमा रिलिज नहुने निश्चित भइसकेको छ। यस्तोमा अब धेरैको चासो दसैंको फूलपातीमा रिलिज तयारीमा रहेका फिल्महरू के हुन्छन् भन्नेमा छ।
गत मंगलबारदेखि ठप्प हल सोमबारदेखि खुलाउने निर्णय भएको छ। योसँगै फूलपातीको अवसर पारेर प्रदर्शन तयारीमा रहेका फिल्म निर्धारित मितिमै आउने सम्बन्धित फिल्मका निर्माताहरूले बताएका छन्।
असोज १३ गतेका लागि फिल्म 'बलिदान', 'हरिबहादुरको जुत्ता' र 'माइतीघर' को प्रदर्शन तय छ। यी तीनवटै ठूला ब्यानर, ठूलो लगानी र स्थापित कलाकारहरू अभिनीत फिल्म हुन्।
'बलिदान' का निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्म फूलपातीदेखि नै प्रदर्शनमा आउने बताए। 'यसैसाता ट्रेलर ल्याउने तयारी छ। फिल्म निर्धारित मितिमै आउँछ', सेनले भने।
फिल्म 'माइतीघर' का निर्माता रोहित अधिकारी पनि आफ्नो फिल्म फूलपातीमै रिलिज हुने बताए।
'देश शोकमा छ। हामी पनि शोकमा छौं। मनोरञ्जनमा रूचि छैन होला। तर पनि फिल्म क्षेत्रलाई चलायमान बनाउनुपर्यो', अधिकारीले भने, 'यही हप्ता ट्रेलर रिलिज गर्ने तयारी छ। आशा छ रिलिज हुँदासम्म माहोल सामान्य बन्नेछ।'
'हरिबहादुरको जुत्ता' का निर्माता सरोज वलीले पनि फिल्म फूलपातीमै रिलिज हुने बताए।
'अहिले केही दिन प्रचारप्रसार सुरू गरिहाल्ने माहोल चाहिँ छैन। त्यसैले असोज ४ देखि प्रचारप्रसार थाल्ने योजना छ', उनले भने, 'माहोल सहज बन्दै गइरहेको र दसैंसम्म माहोल बन्ने विश्वासले निर्धारित मितिमै आउने तयारी गरेका हौं।'
कतिपयले भने अहिलेको अवस्थामा धेरै फिल्म एकसाथ आउँदा जोखिम समेत रहने भएकाले सोचविचार समेत गर्न सुझाव दिएका छन्।