नेपालमा दुई दशकभन्दा बढी समयदेखि सिनेमा शिक्षा प्रदान गर्दै आएको अस्कर अन्तर्राष्ट्रिय कलेजले आयोजना गरेको तेस्रो युवा लघु सिनेमा प्रतियोगितामा उज्जवल श्रेष्ठको 'ईग्लू' ले प्रथम पुरस्कार प्राप्त गरेको छ।
नगद एक लाख रूपैयाँसहित सम्मानित यो सिनेमाले लागुऔषधको दलदलमा फसेकी बहिनी र उनको दाजुबीचको सम्बन्धमा एउटा स्वैरकाल्पनिक पात्रले कसरी नयाँ बाटो देखाउँछ भन्ने मार्मिक कथा प्रस्तुत गरेको छ।
काठमाडौंको सुकेधारास्थित कलेजकै 'साधना घर' प्रेक्षालयमा आयोजित उत्कृष्ट दस सिनेमाको प्रदर्शन तथा पुरस्कार घोषणा एवम् वितरण कार्यक्रममा निर्णायकहरू शवनम मुखिया, सुजित बिडारी र नवीन चौहानले विजेताहरूको घोषणा गरेका थिए।
प्रतियोगितामा सफल रेग्मीको 'उल्झन' ले दोस्रो पुरस्कार प्राप्त गर्यो। यस सिनेमाले प्रविधिको कारणले भूलवश ऐठन खेपिरहेको एक जोडीको कथालाई चित्रण गरेको छ। तेस्रो पुरस्कार भने विप्लव विश्वासको ‘सकर–बकर’ ले जित्यो, जसले प्रयोगवादी शैलीमा कथा वाचन गरेको थियो।
यसैगरी, जुरी पुरस्कार मिङ्ला लिम्बूको 'खेने नु आंगा' ले पायो। यस सिनेमाले कवितात्मक ढंगले दुई युवतीको सम्बन्धको कथालाई सुन्दर रूपमा प्रस्तुत गरेको थियो। दोस्रो पुरस्कार विजेतालाई पचास हजार र तेस्रो पुरस्कार विजेतालाई पच्चीस हजार रूपैयाँ प्रदान गरिएको थियो।
आयोजकका अनुसार जुरी पुरस्कारसहित सबै विजयीहरूले यदि कलेजमा भर्ना हुन चाहेको खण्डमा कलेजले पचास प्रतिशत छात्रवृत्ति प्रदान गर्नेछ। २० वर्षमुनिका युवा प्रतिभाहरूलाई पहिचान गर्ने उद्देश्यका साथ सुरूवात भएको यस प्रतियोगितामा प्रत्येक वर्ष सहभागी युवा सिनेमाकर्मीहरूको संख्या बढ्दै गएको छ।
यस वर्ष ४० भन्दा बढीले सिनेमा बुझाएका थिए, जसमध्ये २१ जनाका सिनेमा प्रतियोगिताका लागि योग्य ठहरिएको कलेजले जनाएको छ।
अस्कर कलेजले युवा पुस्तालाई सिनेमा निर्माणमा प्रोत्साहन गर्दै नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गरिरहेको छ।