चर्चित कथावाचक तथा कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेलले फिल्ममा अभिनय गर्ने भएका छन्। 'आ बाट आमा' मार्फत उनले फिल्ममा डेब्यु गर्ने भएका हुन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा उनी अनुबन्धित भएसँगै कलाकारहरूको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ।
सामाजिक सञ्जालमा आफ्ना भावनात्मक प्रस्तुतिहरूका लागि परिचित साइग्रेसको यो पहिलो फिचर फिल्म हुनेछ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बन्न लागेको 'आ बाट आमा' मा साइग्रेससँगै अन्य चर्चित कलाकारहरूको पनि अभिनय रहनेछ। पल शाह, विपना थापा, उषा उप्रेती पनि यसमा अनुबन्धित भइसकेका छन्।
साथै, दक्षिण भारतीय फिल्म उद्योगमा खलनायकको भूमिकामा चर्चित अभिनेता प्रदीप रावत पनि फिल्मको महत्वपूर्ण हिस्सा हुनेछन्। उनले यसअघि निर्देशक पन्तसँग 'ह्रस्व दीर्घ' मा पनि काम गरिसकेका छन्। ‘आ बाट आमा’ मा रावतले पल शाहको बुबाको भूमिका निर्वाह गर्ने जनाइएको छ।
फिल्म पारिवारिक तथा भावनात्मक कथावस्तुमा आधारित हुनेछ। यसले आमा र सन्तानबीचको पवित्र सम्बन्धलाई उजागर गर्ने जनाइएको छ। फिल्मको छायांकन भदौ १२ गतेबाट सुरू हुने निर्माण पक्षले जानकारी दिएको छ।
कृष्ण प्रसाद सुवेदीले निर्माण गर्न लागेको फिल्ममा ध्रुब न्यौपाने र प्रकाश कुँवरले पनि निर्माणमा साथ दिएका छन्। कार्यकारी निर्माता करण सिंह हुन् भने सह–निर्मातामा छितिज ढुंगाना छन्।
निर्माण पक्षका अनुसार, फिल्म आगामी फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ। नेपालभर यसलाई आरआर फिल्म्सले वितरण गर्नेछ।