'बल्छी धुर्बे' नामले परिचित कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ अब फिचर फिल्म निर्देशनमा होमिएका छन्।
उनको निर्देशनमा बन्ने फिल्म 'गोबर गणेश' को मंगलबार शुभमूहूर्त गरिएको छ। काठमाडौंको म्हेपी मन्दिरमा गरिएको शुभमुहूर्त समारोहमा 'माग्ने बुढा' अर्थात् केदार घिमिरेले नरिवल फोडेर शुभारम्भ गरेका थिए भने कलाकार रवि गिरीले क्ल्याप हानेका थिए।
मुहूर्तसँगै फिल्मको छायांकन पनि आजैबाट काठमाडौंमा सुरू भएको छ। पोखरामा पनि खिचिने फिल्मको छायांकन सेड्यूल ३५ दिन राखिएको छ।
सफल टेलिशृंखला 'मेरी बास्सै', 'हल्का रमाइलो' र 'जुठे' लगायतका सिरियलबाट दर्शकको मन जितेका मरिचमानले ठूलो पर्दामा पनि दर्शकको उस्तै माया पाउने विश्वास व्यक्त गरे।
उनले भने, 'सानो पर्दामा दिनुभएको माया र साथ अब ठूलो पर्दामा पनि पाइनेछ भन्ने विश्वास छ। हाम्रो कला र सीपले भ्याएसम्म दर्शकलाई निराश नबनाउने गरी एउटा राम्रो फिल्म बनाउने प्रयास गर्नेछौँ।'
बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुने 'गोबर गणेश' मा वर्षा सिवाकोटी, मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सिना, माओत्से गुरूङ, सीतादेवी तिमिल्सिना, पुजन घिमिरे, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामालगायत कलाकारहरूको अभिनय रहनेछ।
'गोबर गणेश' आगामी माघ १ गते देशव्यापी प्रदर्शनमा आउने घोषणा भइसकेको छ।
शिवराम श्रेष्ठको छायांकन रहने फिल्म विपीन मल्लले सम्पादन गर्नेछन्।