दयाहाङ राई, मिरूना मगर र विजय बराल अभिनीत 'जारी २' को अफिसियल टिजर सार्वजनिक भएको छ।
बाँसुरी फिल्मस्को प्रतिक्षित सिक्वेल 'जारी २' को २ मिनेट ३४ सेकेन्डको टिजरमा यसको कथावस्तुसँगै चरित्र चित्रणबारे संक्षिप्त जानकारी दिइएको छ।
लिम्बु समुदायको परम्परागत र मौलिक बाजा च्याम्ब्रुङ नाचलाई केन्द्रमा राखेर फिल्मको कथा भनिएको छ। फिल्मको नाम 'जारी २ः सङ अफ च्याब्रुङ' राखिएको छ। च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई 'नांगो' पहाडसँग तुलना गर्ने संवादबाट सुरू हुने टिजरमा च्याब्रुङलाई लिम्बुको खुसीको स्वरका रूपमा व्याख्या गरिएको छ।
टिजरले फिल्म आफ्नो सांस्कृतिक पहिचान र त्यसको सेरोफेरोमा सामाजिक र पारिवारिक कथामा केन्द्रित हुने बुझाउँछ।
हिट फिल्मको सिक्वेल, ब्यानर, दयाहाङ र मिरूनाको केमेस्ट्री, निर्देशक, कथावस्तु लगायतका कारण 'जारी २' प्रतिक्षित मानिएको छ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म फिल्मलाई रामबाबु गुरूङ, मधु मिजार र जीवन गुरूङले निर्माण गरेका हुन्।
फिल्ममा दयाहाङ, मिरूना र विजयका साथमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरूङ, प्रेम सुब्बा, माओत्से गुरूङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको हो।
'जारी' फिल्म २०८० सालको ब्लकबस्टर फिल्म हो। सो वर्ष फिल्मले नेपाली बक्स अफिसमा १७ करोडमाथिको व्यापार गरेको थियो।
'जारी २' असोज ३ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने तयारीमा छ।