नेपालका सिनेमा हलमा तीन सातापछि नयाँ नेपाली फिल्म रिलिज भएको छ।
असार २७ मा रिलिज 'यो मन त मेरो नेपाली हो' यता कुनै नयाँ नेपाली फिल्म रिलिज नभएकोमा शुक्रबारदेखि 'रियाल रिंगेट' ले प्रदर्शन थालेको हो।
नेपाली समाजको समसामयिक र संवेदनशील विषयवस्तुलाई उठान गरेको यो फिल्म शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ।
प्रवासी नेपाली श्रमिकहरूको संघर्ष, पीडा र यथार्थ कथालाई समेटिएको यो फिल्म प्रिमियरमा रूचाइएको थियो।
फिल्मले देशभर एक सय हाराहारीमा शो प्राप्त गरेको वितरकहरूले जनाएका छन्।
विभोर पोखरेलको निर्देशनमा बनेको फिल्ममा प्रमुख भूमिकामा प्रमोद चौलागाईं र नीता ढुंगाना छन्। छुल्ठिम डोल्मा गुरूङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतको समेत यसमा अभिनय छ।
रेबेल फिल्मसको ब्यानरमा बनेको 'रियाल रिंगेट' प्रदीप भारद्वाजले लेखेका हुन् भने गगनलाल प्रधान यसको निर्माता छन्।