नाजिर हुसेन अभिनीत फिल्म 'गुन्यो चोलोः द ड्रेस' को ट्रेलर सार्वजनिक भएको छ।
बिहीबार ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक ट्रेलरमा तेस्रोलिंगी पात्रले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष देखाइएको छ। आफूभित्र रहेको पहिचान उजागर गर्न खोज्ने छोरो र त्यसलाई दबाउन खोज्ने बुवाबीचको संघर्ष र तनाव ट्रेलरमा देखिन्छ।
ट्रेलरमा मुख्य कलाकार नाजिर हुसेनलगायत अन्य कलाकारहरूलाई पनि देखाइएको छ।
समुन्द्र भट्टको निर्देशन रहेको फिल्म 'गुन्यो चोलोः द ड्रेस' लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ। यसमा नाजिरले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन्।
नाजिरसँगै फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ।
फिल्मको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ। फिल्ममा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन्।
यो फिल्म नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त सहकार्यमा बनेको हो। फिल्ममा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ। कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ फिल्मका सहयोगी निर्माता हुन्।
आलोक शुक्लाले यो फिल्म खिचेका हुन्। फिल्म अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा समेत छनोट भएको थियो।
'गुन्यो चोलोः द ड्रेस' भदौ १३ देखि प्रदर्शन हुँदैछ।