कलाकार किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी बिहीबारदेखि सुरू भएको छ।
ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट, काठमाडौं आर्ट हाउस, काठमाडौं गेष्ट हाउस र काठमाडौं गेस्ट हाउस पाटनमा एकसाथ प्रदर्शनी सुरू भएको हो।
एनसेल फाउण्डेसनसँगको सहकार्यमा भएको चित्रकला प्रदर्शनीमा करिब आधा सताब्दी लामो मानन्धरको कलायात्राका क्रममा सृजना गरिएका केही चित्रकलालाई राखिएको छ।
आयोजक म्युजियम अफ नेपाली आर्टका अनुसार रङ, रेखा र अराजकताको दशकहरूलाई उजागर गरिएको चित्रकलामा यस अवधिका विविध आयामहरूलाई समेटिएको छ।
'प्रदर्शनीको नाम स्वयं कलाकारकै नाम किरणबाट आएको हो, जसको अर्थ प्रकाश हुन्छ', म्युजियम अफ नेपाली आर्टका प्रमुख क्युरेटर राजन शाक्यले भने, 'प्रकाशमा फेरि प्रकाश हाल्न आवश्यक छैन, त्यसैले किरण मानन्धर स्वयं प्रकाश हुनुहुन्छ।'
कलाकार किरण मानन्धरले यस प्रकारका प्रदर्शनीले नेपाली कला र संस्कृतिको प्रवद्र्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। विशेष गरी नयाँ पुस्तामा ज्ञान, सीप र कला हस्तान्तरणमा यसले भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे।
उनले भने, 'मैले यसप्रकारका प्रदर्शनी कैयौं पटक आयोजना गरेको छु, यसबाट दर्शकहरुसँग साक्षात्कार गर्ने अवसर प्राप्त हुनुका साथै कला र संस्कृतिबारे ज्ञान साट्ने अवसर प्राप्त हुन्छ।'
एनसेल लगायतका संस्थाले प्रदर्शनी आयोजनाका लागि गरेको सहयोगमा उनले आभार व्यक्त गरे।
एनसेल फाउण्डेसन तथा विशेष परियोजनाकी निर्देशक विशाखा लक्ष्मी कुँवरले कलाकार मानन्धरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन।
प्रदर्शनीमा प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म अवलोकन गर्न पाइनेछ। आगामी सेप्टेम्बरसम्म प्रदर्शनी संचालन हुनेछ।
