अनमोल केसी अभिनीत फिल्म 'जेरी अनटप' ले सुखद कमाइ गरिरहेको छ। असोज ३१ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मले पहिलो तीन दिनमा दुई करोड रूपैयाँभन्दा माथिको व्यापार गर्न सफल भएको छ।
निर्माण पक्षका अनुसार फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबार ७२ लाख ५९ हजार ४ सय ८ रूपैयाँ, दोस्रो दिन शनिबार ८६ लाख ३८ हजार २ सय १० रूपैयाँ र तेस्रो दिन आइतबार ६३ लाख ८४ हजार ८० रूपैयाँ ग्रस कलेक्सन गरेको छ।
योसँगै फिल्मले पहिलो विकेन्डमा कुल २ करोड २२ लाख ८१ हजार ६ सय ९८ रुपैयाँको ग्रस कमाइ गरेको हो। सोमबार पनि फिल्ममा दर्शकको उपस्थिति उत्साहजनक रहेको जनाइएको छ।
सुयोग गुरूङ निर्देशित यस फिल्मले 'वर्ड अफ माउथ' समेत सकारात्मक पाइरहेको छ।
फिल्ममा अनमोलका साथमा जसिता गुरूङ, आँचल शर्मा, भुवन केसी, केदार घिमिरे, उषा खड्गीलगायतका कलाकारहरूको अभिनय रहेको छ। सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथालाई फिल्मले मुख्य विषय बनाएको छ।
फिल्मका कलाकारहरू प्रदर्शनको पहिलो दिनदेखि नै दर्शक भेट्न हल भिजिटमा पुगिरहेका छन्। निर्माण पक्षले मंगलबारदेखि मोफसलका सिनेमा हलमा समेत दर्शक भेट्ने तयारी गरेको छ।