साइकोलोजिकल थ्रिलर फिल्म 'द ब्लु लाइट' को छायांकन सकिएको छ।
निर्माणपक्षका अनुसार जेठ २२ गतेदेखि सुरू गरिएको फिल्मको छायांकन २५ दिनमा सकिएको हो।
'द क्लु लाइट' लाई बलिराम चौहानले निर्देशन गरेका हुन्। प्रतीक्षित फिल्म 'बलिदान' का लेखक तथा मुख्य सहायक निर्देशक समेत रहेका चौहानको 'द क्लु लाइट' निर्देशनका रूपमा डेब्यु फिल्म हो ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्मको प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानीलगायत कलाकारहरू छन्। बाल कलाकारमा ग्रिष्मा कटुवाल र सहारा शर्माले अभिनय गरेका छन्।
फिल्मको थिम पोस्टर र फस्र्टलुक पोस्टर सार्वजनिक भइसकेका छन्। निर्माणपक्षले कलाकारको भूमिका र फिल्मको कथाबारे प्रष्ट पारेको छैन। यसबारे विस्तारै खुलाउँदै जाने निर्देशक चौहानले बताएका छन्।
उनले भने, 'हामीले जे बनाउन खोजेका थियौं, त्यहीअनुसार छायांकन सक्यौं। अब पोस्ट-प्रोडक्सनको काम अघि बढ्छ।' दर्शकलाई आफूहरूले राम्रो फिल्म देखाउने विश्वास रहेको उनले बताए।
'द ब्लु लाइट' को सह-निर्मातामा रमन ग्रे छन्। कार्यकारी निर्मातामा छायाँकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल छन्।
फिल्म सन् २०२५ भित्रै रिलिज गरिने जनाइएको छ।