विपिन कार्की र मिरूना मगर अभिनीत फिल्म 'ऊनको स्वीटर' भोलि (शुक्रबारदेखि)देखि आठौं हप्तामा प्रवेश गर्दैछ।
वैशाख २६ गते रिलिज भएको यो फिल्मले शनिबार प्रदर्शनको ५१ दिन मनाउनेछ।
'आर्टमान्डू नेपाल' को प्रस्तुति, नवीन चौहानको लेखन तथा निर्देशन रहेको फिल्मले दर्शकको मन जित्दै प्रदर्शनको लामो यात्रा तय गरेको हो।
फिल्म अझै पनि राम्रो शो संख्या र अकुपेन्सीमा प्रदर्शन भइरहेको छ। बिहीबार ३० हाराहारी शो फिल्मले पाएको छ। शुक्रबारदेखि शो केही घटेको देखिन्छ।
यो फिल्मलाई देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले सुपरहिटको ट्याग दिइसकेको छ भने फिल्मले घरेलु बजारमा १२ करोडमाथिको व्यापार गरेको निर्माणपक्षले जनाएको छ।
यो फिल्म हेर्नेहरूले टिमसँग जिज्ञासा राख्ने गरेका छन्,– 'ऊनको स्वीटर २' आउँछ कि आउँदैछ? फिल्मको अन्त्य खुला छाड्नुले पनि धेरैले दोस्रो भागको अपेक्षा गर्दै त्यसबारे चासो राखेको देखिन्छ।
यसबारे सेतोपाटीसँगको कुराकानीमा लेखक तथा निर्देशक नवीन चौहानले अहिले नै दोस्रो भागबारे नसोचेको बताए।
उनले भने, 'यो फिल्म ४ वर्ष लगाएर बन्यो। यो चल्यो, अब अर्को फिल्म बनाइहालौं भन्ने कुरा आउँदैन।'
अहिलेको क्षण आफूहरूका लागि महत्वपूर्ण रहेकोले आगामी फिल्मबारे अहिल्यै नसोचेको उनको भनाइ छ।
'सर्जकलाई यो क्षण नै महत्वपूर्ण छ। दर्शकहरूले फिल्म हेरेर दिएको प्रतिक्रिया सुन्ने, केही मीठो कुरा भन्नुभएको छ भने आहा भन्ने, अनि त्यो कुरा घरमा लगेर साँझ आनन्दले सम्झँदै निदाउने अहिलेको जुन शृंङ्खला छ। यसलाई अझै धेरै अनुभव गर्न चाहन्छौं,' नवीनले भने।
उनले दर्शकले दोस्रो भागलाई लिएर राखेको चासो आफूहरूप्रतिको माया भएको बताए।
यो पनिः फिल्म हिट, गीत सुपरहिट (भिडिओ)