निर्माण तयारीमा रहेको फिल्म 'महाराजधिराज' मा अभिनेता पल शाह नहुने भएका छन्।
निर्माण कम्पनी छत्रेश्वर म्यानेजमेन्ट प्रा.लीले फिल्मलाई लिएर पल शाहसँग भएको सम्झौता अन्त्य गरिएको जनाएको छ।
यो फिल्मका लागि गत कात्तिक १४ मा पलसँग साझेदारी सम्झौता भएको थियो। निर्माण कम्पनीले एक सूचनामार्फत बिहीबारबाट पल शाहसँगको सम्झौता अन्त्य गरिएको जनाएको छ।
यस विषयलाई लिएर आउँदा दिनमा दुवै पक्षबाट कुनै कुराकानी नहुने र तेस्रो पक्षबाट आउने प्रश्नको विषयमा पनि दुवै पक्षले जबाफ नदिने जनाइएको छ।
परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा सुरूमा पल अनुबन्ध भएका थिए। फिल्ममा कलाकारहरूको लाइनअप बलियो देखिएको छ। आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह, पुष्प खड्का, वर्षा राउत, वर्षा शिवाकोटी, गजित विष्ट, उषा रजक लगायतका कलाकारहरू फिल्ममा जोडिएका छन्।
फिल्मका प्रस्तुतकर्ता विराज बिष्ट हुन् भने निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रबी खड्का छन्। आगामी फूलपातिलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ।