फिल्म 'द ब्लु लाइट' को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
निर्माणपक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा फिल्मको मुख्य कलाकारमध्येकी एक बेनिशा हमाल छिन्।
उनलाई बारमा देखाइएको छ। औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा देखिन्छिन्। निलो लाइटको संयोजन रहेको पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडी रक्सीको कप र औंलाको चुरोटले उनी बारगर्ल रहेको संकेत गर्छ। तर बेनिशाको भूमिकाबारे निर्माणपक्षले खुलाएको छैन।
गत बिहीबारदेखि छायांकन सुरू भएको फिल्मलाई बलिराम चौहानले निर्देशन गरिरहेका छन्। चौहान अहिलेको प्रतीक्षित फिल्म 'बलिदान' को लेखक तथा मुख्य सहायक निर्देशक हुन्। 'द ब्लु लाइट' उनको डेब्यु निर्देशन हुनेछ।
फिल्मको प्रमुख भूमिकामा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानीलगायत छन्। बाल कलाकारमा ग्रिष्मा कटुवाल र सहारा शर्मा देखिँदैछन्।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने फिल्मलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो। फिल्मको सह-निर्मातामा रमन ग्रे छन्।
कार्यकारी निर्मातामा भने छायांकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल छन्। फिल्मको छायांकन नरेन्द्र मैनालीले गरिरहेका छन्।
'द ब्लु लाइट' सन २०२५ भित्रै प्रदर्शनमा ल्याउने निर्देशक चौहानले बताएका छन्।