चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म 'आ बाट आमा' को शीर्ष भूमिकामा अभिनेता पल शाह अनुबन्ध भएका छन्।
फिल्ममा जोडिएसँगै पलले यसको कथा मन परेकाले काम गर्न राजी भएको बताएका छन्।
छायांकन चाँडै गर्नका लागि आफूले निर्देशक पन्तलाई आग्रह गरेको समेत पलको भनाइ छ।
उनले भने, 'सबभन्दा पहिला त यो फिल्मको स्क्रिप्ट मन पर्यो। स्क्रिप्टमा एकदमै इमोसनल छ। अनि दिग्गज कलाकारहरूको टिम लिएर निर्माण गर्न लाग्नुभएको रहेछ। त्यसैले पनि मैले ‘आ बाट आमा’ मा काम गर्न राजी भएँ।'
उनले चन्द्र पन्तको यसअघिको फिल्म 'ह्रस्व दीर्घ' को मेकिङको प्रशंसा गर्दै 'आ बाट आमा' मेकिङको हिसाबले पनि राम्रो बन्ने विश्वास रहेको बताए।
उनले फिल्मको स्क्रिप्ट २–३ पटक सुनेको समेत सुनाए।
त्यसक्रममा सुन्ने र सुनाउने मान्छे इमोसनल भएको उनले बताए। उनले भने, 'मैले अहिलेसम्म गरेको फिल्ममध्ये यो नै इमोसनल फिल्म बन्छ भन्ने मलाई लाग्छ। र, दर्शकले पनि अति नै मन पराउनुहुन्छ भन्नेमा म विश्वस्त छु।'
फिल्ममा उनको पात्रबारे भने जानकारी दिइएको छैन।
यसअघि यो फिल्ममा आमाको भुमिकाका लागि अभिनेत्री विपना थापा अनुबन्ध भइसकेकी छन्। निर्देशक पन्तले नै गतवर्ष प्रदर्शनमा आएको फिल्म 'ह्रस्वदीर्घ' मार्फत विपनालाई १६ वर्षको अन्तरालमा नेपाली रजतपटमा पुनरागमन गराएका थिए।
अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको 'आ बाट आमा' ले आमा र सन्तानबीचको गहिरो कथा भन्ने जनाइएको छ। फिल्ममा विपना र पलका साथमा अन्य कलाकार र प्राविधिकहरूको पनि टुंगो छिट्टै लाग्ने निर्देशक पन्तले जानकारी दिए।
उनका अनुसार यो फिल्म आगामी फागुन १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ।