यो साता हलमा नयाँ नेपाली फिल्म रिलिज भएनन्।
गणतन्त्र दिवसको अवसर पारेर बिहीबार 'महाभोज' रिलिज हुने तयारी थियो। यद्यपि, अन्तिम समयमा आएर देशको विषम परिस्थितिका कारण यसको प्रदर्शन स्थगित गरियो।
फ्राइडे रिलिज अन्तर्गत पनि कुनै नेपाली फिल्म रिलिज गरिएन।
नयाँ नेपाली फिल्म प्रदर्शनमा नआए पनि हलमा यसअघि रिलिज फिल्महरू लागिरहेका छन्।
'ऊनको स्वीटर' उल्लेख्य शोसहित चौथो सातामा
वैशाख २६ गते रिलिज फिल्म 'ऊनको स्वीटर' शुक्रबारदेखि प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ।
चौथो हप्तामा पनि फिल्मले हलमा उल्लेख्य शो पाएको छ। नवीन चौहान निर्देशित यो फिल्ममा विपिन कार्की र मिरूना मगरले मुख्य भूमिकामा अभिनय गरेका छन्। फिल्मले तीन सातामा १० करोड ५ लाख रूपैयाँ कमाइ गरेको निर्माणपक्षले जनाएको छ।
दोस्रो सातामा 'नरसिंहा अवतार'
जेठ ९ गते रिलिज फिल्म 'नरसिंहा अवतार' शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ। दिवाकर भट्टराईको निर्देशनमा बनेको यो राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म हो।
रिलिजअघि फिल्मलाई लिएर जति चर्चा भएको थियो, रिलिजपछि यसको व्यापार भने त्यो अनुसार हुन सकेको छैन।
निर्माणपक्षले फिल्मको कमाइबारे आधिकारिक जानकारी दिएको छैन। अहिले हलमा अन्य नेपालीसँगै विदेशी फिल्म पनि रहेकोले माहोलअनुसार ‘नरसिंहा अवतार’ को व्यापारलाई नराम्रो भन्न नमिल्ने यसका वितरकले बताएका छन्।
'के घर के डेराः घर नं २' तेस्रो सातामा
दिपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म 'के घर के डेराः घर नं २' जेठ २ मा रिलिज भएको थियो। यो फिल्म शुक्रबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ।
'के घर के डेराः घर नं २' मा खगेन्द्र लामिछाने, उपासना सिंह ठकुरी, निश्चल बस्नेत, केकी अधिकारी, आर्यन सिग्देल लगायतको अभिनय छ। फिल्मको व्यापार अपेक्षित भने हुन सकेन।
हलमा अझै छ 'अञ्जिला'
फागुन २९ मा रिलिज फिल्म 'अञ्जिला' अझै प्रदर्शनरत छ। मिलन चाम्स निर्देशित यो फिल्मले देशभरमा ४५ भन्दा बढी शोसहित ५१ औं दिन मनाएको थियो।
'अञ्जिला' नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म हो, जसमा एन्जिलाले आफैँ प्रमुख भूमिका निर्वाह गरेकी छन्। फिल्मले १० करोड रूपैयाँमाथि कमाइ गरेको निर्माणपक्षले जनाएको छ।
हलमा नेपालीसँगै केही विदेशी फिल्महरू समेत प्रदर्शन भइरहेका छन्।
यो पनिः अन्तिम समयमा आएर किन स्थगित भयो 'महाभोज' को प्रदर्शन?