फिल्म 'महाभोज' प्रदर्शन तत्काललाई स्थगित गरिएको छ। दिनेश राउत निर्देशित फिल्म जेठ १५ गते (बिहीबार) देखि प्रदर्शनमा आउने तयारीमा थियो।
देशको विषम परिस्थितिका कारण प्रदर्शन स्थगित गरिएको जनाइएको छ।
निर्माता कम्पनी क्लक वर्क क्रियशन प्रा.लि.ले बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ १५ का लागि तय गरिएको प्रदर्शन स्थगित गरिएको जनाएको हो।
निर्माता हिमाल कडरियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै, फिल्म ‘महाभोज’ को प्रदर्शन नेपाल तथा नेपाल बाहिरका सबै देशहरूमा हाललाई स्थगित गरिएको जानकारी गराउँदछौं।'
फिल्मप्रति दर्शकहरूले देखाएको उत्साह र समर्थनप्रति आभार प्रकट गर्दै निर्माताले मुलुकको संवेदनशील परिस्थितिमा दर्शकको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै तत्काललाई प्रदर्शन स्थगित गर्नुपरेको बताएका छन्। अवस्था सामान्य भएपछि नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जनाइएको छ।
'महाभोज' सहकारीको रकम अपचलनको कथावस्तुमा निर्माण गरिएको फिल्म हो।
फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरूङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतको प्रमुख अभिनय छ।
