अभिनेता राजेश हमाल अभिनीत फिल्म 'नरसिंहाः अवतार' गत शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनरत छ।
राजेशको ८ वर्षपछिको कमब्याक फिल्म भएकाले पनि 'नरसिंहाः अवतार' लाई थप चासोका साथ हेरिएको थियो। फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा थियो। यद्यपि, फिल्मको व्यापार अपेक्षित भने देखिएको छैन।
निर्माण पक्षले ग्रस कलेक्सनबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन। वितरक करण श्रेष्ठ भने अहिलेको माहोल अनुसार फिल्मको व्यापारलाई राम्रै मान्नुपर्ने बताउँछन्। उनका अनुसार फिल्मले ३ दिनमा १ करोड रूपैयाँ हाराहारीको व्यापार गरेको छ।
'यतिबेला अन्य नेपाली फिल्म समेत छन्। विदेशी फिल्मले पनि राम्रै गरिरहेका छन्,' उनले भने, 'शो बाँडिदा प्राप्त शोमा नरसिंहाले जति व्यापार गरेको छ त्यसलाई राम्रै मान्नुपर्छ।'
अहिले पनि फिल्म राम्रै अकुपेन्सीमा चलिरहेको उनले बताए।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको 'नरसिंहाः अवतार' मा राजेशसहित सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, प्रशान्त ताम्राकार लगायतको अभिनय छ।
फिल्म रिलिजसँगै कलाकारसहितको टिम दर्शक भेट्न हल-हलमा पुगिरहेका छन्। सुरूआतका दिनमा काठमाडौंमा पुगेको टिम बुधबार धनगढी पुगेको छ। राजेश हमाल, राज कटुवाल, सनिशा भट्टराई लगायतले हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेका छन्।

राजेश हमाल हलमा पुग्दाको क्रेज भने गज्जब देखिने गरेको छ। उनी जहाँ पुग्छन्, त्यहाँ दर्शकले ताली र सिठ्ठीसहित स्वागत गरिरहेका छन्। राजेशसँग भेट्न र तस्बिर खिच्न दर्शकबीच तछाडमछाड नै चल्ने गरेको प्राप्त भिडिओ र तस्बिरमा देख्न सकिन्छ।
'नरसिंहाः अवतार' एक्सन जनरामा रहेर प्रेम, परिवार र बदलाको कथामा बनेको फिल्म हो।
यसको निर्माता नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने हुन्।