गत साता थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको फिल्म 'द ब्लू लाइट' को प्रमुख भूमिकामा अभिनेता अर्पण थापा अनुबन्ध भएका छन्।
यो फिल्म बलिराम चौहानले निर्देशन गर्दैछन्। उनी अहिलेको प्रतीक्षित पिल्म 'बलिदान' का लेखक तथा मुख्य सहायक निर्देशक हुन्। चौहानको 'द ब्लू लाइट' डेब्यु निर्देशन हुनेछ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुन लागेको फिल्मको शीर्षमध्येको एक भूमिकामा अर्पण थापालाई मंगलबार अनुबन्ध गरिएको निर्माण टिमले जनाएको छ।
यो फिल्ममा यसअघि अभिनेत्री बेनिशा हमाल अनुबन्ध भइसकेकी छन्।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्लू लाइट’ को सह–निर्माताको रूपमा रमन ग्रे रहनेछन्।
निर्देशक चौहानले फिल्मको कथावस्तु र अन्य कलाकारहरूको विवरण हाललाई गोप्य राखेका छन्। उनले चाँडै कलाकारको पूरै लाइनअप सार्वजनिक गरिने बताएका छन्।
जेठ २१ देखि छायांकन सुरू हुने फिल्म नरेन्द्र मैनालीले खिच्नेछन्।
'द ब्लू लाइट' सन् २०२५ भित्रै प्रदर्शनमा ल्याइने निर्माणपक्षले जनाएको छ।