बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म 'महाभोज' ले विशेष प्रदर्शनमा प्रशंसा पाएको छ।
मंगलबार बेलुका काठमाडौंमा आयोजित विशेष प्रदर्शनमा सहकारी पीडित, फिल्म टिम र सञ्चारकर्मीले फिल्म हेरेका थिए।
फिल्म हेरेपछि सहकारी पीडितहरूले फिल्मले आफूहरूकै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त र प्रेरित बनाएको बताए।
फिल्म प्रदर्शनपछि उनीहरूले सञ्चारकर्मीहरूसामु नाराबाजीसहित उत्साह व्यक्त गर्दै भने, 'राज्यले नसुनेको पीडितको आवाज ‘महाभोज’ ले पर्दाबाट बोलेको छ।'

फिल्म हेर्नेहरूले 'महाभोज' मनोरञ्जनको माध्यम मात्र नभएर आन्दोलनको स्वर समेत बनेको बताए। फिल्मले राज्य संयन्त्रमाथि नै गहिरो प्रश्न उठाएको उनीहरूको भनाइ थियो।
यसैबीच, देशभर 'महाभोज' को अग्रिम बुकिङ खुला गरिएको छ। वितरकहरूका अनुसार यो फिलम करिब २ सय शोसहित नेपालभर प्रदर्शन हुँदैछ।
दिनेश राउत निर्देशित यो फिल्म सहकारी बचतकर्ताको रकम अपचलनको कथामा आधारित छ। पीडितहरूको वेदना, जागिरेहरूको मानसिक संघर्ष र राजनीतिक चलखेल फिल्मको मूल कथा बन्छ। साथमा, यस फिल्मले हास्यपरक रूपमा फिल्मका पात्रहरूलाई पनि प्रयोग गरी फिल्मलाई मनोरञ्जक समेत बनाइएको छ।

फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरूङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतको प्रमुख अभिनय छ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको फिल्मका निर्माता हिमाल कडरिया हुन्। फिल्म नेपालसँगै विदेशका केही मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारीमा छ।
'महाभोज' का कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली र मलिका महतबीचको भिडिओ कुराकानी—