निर्देशक दीपेन्द्र के. खनाल निर्देशित फिल्म 'के घर के डेरा: घर नं २' को प्रिमियर सम्पन्न भएको छ।
केही फरकपन अपनाएर गरिएको प्रिमियरमा सर्वसाधारण दर्शकसहित कलाकार, पत्रकार र निर्देशकको उपस्थिति थियो। निर्माण टिमले यसपटक १८० जना सर्वसाधारणलाई निमन्त्रणा गरेका थिए। ती दर्शकसँगै बसेर कलाकार तथा निर्देशकले फिल्म हेरे।
फिल्म हेरेपछि तीनै १८० सर्वसाधारणसँग फिल्मको प्रतिक्रिया लिइएको थियो। आम सर्वसाधारणको समीक्षा कस्तो आउँछ भनेर बुझ्न प्रिमियरमा बोलाइएको थियो। प्राय: नेपाली फिल्मको प्रिमियरमा कलाकार, पत्रकार र आफन्तलाई बोलाउने प्रचलन छ। यो मान्यतालाई भत्काउँदै सर्वसाधारणलाई बोलाएर प्रिमियरमा फिल्म देखाइएको हो।
प्रिमियरपछि फिल्म हेर्ने दर्शकले 'के घर के डेरा: घर नं २' को तारिफ गरेका छन्। उनीहरूले आम नेपाली नागरिकले हेर्नै पर्ने फिल्म भनेका छन्।
अभिनेता हरिवंश आचार्यले फिल्मको प्राविधिक पक्षको खुलेर तारिफ गरे। 'टेक्निकल्ली धेरै राम्रो छ, कलाकारहरूको अभिनय उत्कृष्ट छ। मध्यमवर्गीय जीवन र आर्थिक संघर्षलाई निकै प्रभावकारी रूपमा देखाइएको छ,' उनले भने।
अभिनेत्री स्वस्तिमा खड्काले फिल्म 'फेमिली भ्यालुज' मा आधारित रहेको बताउँदै भनिन्, 'फिल्म निकै मनछुने छ। सहज रूपमा हेर्न मिल्ने र भावनात्मक रूपमा जोडिन सकिने खालको छ।'
अभिनेत्री मनिषा कोइरालाले फिल्मको कथा आफ्नो मनमा गहिरो छाप परेको बताइन्। 'मर्मस्पर्शी कथा छ। कथाको पीडा आफूले नभोगे पनि त्यो अनुभूति गर्न सकिन्छ,' उनले भनिन्।
गायिका अन्जु पन्तले फिल्ममा देखाइएको सम्बन्धको महत्व र दुःख सामना गर्ने तरिकाको खुलेर प्रशंसा गरिन्। 'कहिले हँसाउने, कहिले भावुक बनाउने फिल्म हो। सम्बन्ध जोगाउने सन्देश विशेष मन पर्यो,' उनले भनिन्।
सर्वसाधारणको उत्साहजनसक प्रतिक्रियासँगै निर्माण टिम उत्साहित भएको छ। 'आज म निकै उत्साहित छु, दर्शकसँगै बसेर प्रिमियरमा फिल्म हेर्न पाएर,' अभिनेत्री केकी अधिकारीले भनिन्, 'म पनि दुई तीन ठाउँ इमोशनल भएँ।'
निर्देशक दीपेन्द्र के. खनालका अनुसार प्रिमियरमा सर्वसाधारण दर्शकलाई समावेश गर्नुको उद्देश्य फिल्म जस्तो छ, त्यस्तै प्रतिक्रिया सुन्ने हो। 'हामी चाहन्छौं फिल्म राम्रो लागे अरूलाई भन्नुहोस्, नराम्रो लागे सुधार गर्न सुझाउनुहोस्' उनले भने, 'हामीले प्रिमियरमा नयाँ थालनी गरेका छौं। जस्तो फिल्म छ त्यस्तै समीक्षा आओस भनेर दर्शकलाई प्रिमियरमा फिल्म देखाएका हौं।'
'फिल्म जस्तो छ त्यस्तै समीक्षा दिनु होला। राम्रो लाग्यो भने अरूलाई भन्नुहोला। नराम्रो छ भने पनि भन्नुहोला हामी सच्याउँदै सिक्दै अगाडि बढ्छौं,' अभिनेता खगेन्द्र लामिछानेले भने।
अभिनेता आर्यन सिक्देलले भने, 'जस्तो लाग्छ, त्यस्तै समीक्षाको अपेक्षा गरेका छौं। पक्कै पनि फिल्म मन परेको महसुस मैले गरेको छु।'
'के घर के डेरा: घर नं २' भोलिबाट रिलिज हुँदैछ। दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। उनको यो पहिलो स्क्रिप्ट हो।
फिल्ममा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रूविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ।