निर्माण तयारीमा रहेको फिल्म 'राम नाम सत्य' मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित भएका छन्। यसअघि अभिनेता विराज भट्टलाई अनुबन्ध गरेको निर्माण टिमले बुधबार सुशीलसँग सम्झौता गरेको हो।
म्युजिक भिडिओ निर्देशनमा सक्रिय माइकल चन्दको निर्देशनमा 'राम नाम सत्य' बन्न लागेको हो। एक्सन, लभस्टोरी र सस्पेन्स कथामा बन्न लागेको फिल्मको अहिले प्रि–प्रोडक्सनको काम भइरहेको छ।
अभिनेता सुशीलले फिल्मको स्क्रिप्ट सुनेपछि आफू निकै नै उत्साहित भएको बताएका छन्। फिल्ममा विराज र सुशीलको भूमिका कस्तो हुने खुलाइएको छैन।
विराजले पछिल्लो समय '१२ गाउँ' निर्देशन गर्नुका साथै अभिनय गरेका थिए। यो फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो। सुशील पछिल्लो समय फिल्म 'आउट ल' मा देखिएका थिए। यो फिल्ममा उनको एक्सनको तारिफ भएको थियो।
अब, विराज र सुशील एउटै फिल्ममा देखिन लागेका हुन्।
फिल्मका लागि अब अभिनेत्री र अन्य केही कलाकारहरू फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले जनाएको छ।
माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, श्वेता विमली र उत्तम गुरूङको लगानी रहनेछ। फिल्मका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन्।
फिल्मको छायांकन छिट्टै सुरू गर्ने तयारी छ।