सुशान्त गौतम निर्देशित फिल्म 'अभिमन्यु' को छायांकन सकिएको छ। यो उनको डेब्यू निर्देशन हो।
२५ दिनमा फिल्मको छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ। फिल्ममा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।
'अभिमन्यु' को निर्माता विनोद पौडेल हुन्। सर्वकालीन ब्लकबस्टर फिल्म 'पूर्ण बहादुरको सारंगी' निर्माता पौडेलले 'अभिमन्यु' आगामी भदौ २७ गते रिलिज हुने बताएका छन्।
फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने बताइएको छ। पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको फिल्मको मुख्य कथा भएको बताइएको छ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने फिल्ममा मुकेश खनालको लेखन रहेको छ। फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन्। थापाले यसअघि फिल्म 'बाटो: रोड टु डेथ' निर्देशन गरेका थिए।
विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मका रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्। 'अभिमन्यु' मा शरद महतोको डिओपी रहनेछ।
यो फिल्म विश्वभर एकसाथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ।