शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म 'खेल' को काठमाडौंमा प्रिमियर गरिएको छ।
बुधबार बेलुका गरिएको प्रिमियरमा फिल्म हेर्नेहरूले यसको कथा वाचनको तारिफ गरे। मिथिकल सस्पेन्स थ्रिलर जनराको 'खेल' लाई हलिउड फिल्मको स्तरसँग तुलना गर्दै यसको प्राविधिक पाटोसँगै कलाकारहरूको अभिनयको पनि प्रशंसा भयो।
साथै, नेपाली मिथक, रहस्य र आधुनिक मनोविज्ञानलाई सशक्त रूपमा प्रस्तुत गरेको प्रतिक्रिया फिल्मलाई मिल्यो।
प्रिमियरमा प्रमुख कलाकारहरू सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम लगायतको उपस्थिति रह्यो। निर्देशक अनुराग प्रधान, आस्था श्रेष्ठसहित निर्माण टिम सहभागी रह्यो।
निर्देशक प्रधानले आफूले बलिउडमा सिकेको ज्ञान नेपाली फिल्ममा लगाएको बताए। अभिनेत्री सुरक्षा पन्तले युवाहरूले सच्चा मनले बनाएको यो फिल्म सफल हुनेमा विश्वास व्यक्त गरिन्। उनी फिल्मले प्राप्त गरेको प्रतिक्रियाले आफू र 'खेल' टिम पुलकित भएको बताइन्।
मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ लगायतको समेत अभिनय रहेको 'खेल' लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका हुन्।
सिरूपाते कट्स प्रा.लि.को ब्यानरमा फिल्म निर्माण गरिएको हो भने यसको निर्मातामा लुइसराज महर्जन र आशिषराज महर्जन छन्।
कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका हुन्। रोशन राई र सञ्जय लामाको छायांकन रहेको फिल्म आशिषराज महर्जनले सम्पादन गरेका हुन्।
तस्बिरहरूः–

