दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म 'के घर के डेराः घर नं २' को पहिलो गीत सार्वजनिक गरिएको छ।
ओएसआर डिजिटल युट्युबमार्फत सार्वजनिक 'आँखा' बोलको गीतमा रिकेश गुरूङको स्वर छ। गीतको शब्द राम अविरल विष्टको हो भने एसडी योगीको संगीत छ।
प्रेम जोडीको कथा बोल्ने गीतको भिडिओमा फिल्मका मुख्य कलाकारमध्येका अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री उपासना सिंह ठकुरी छन्।
सोसल ड्रामा 'के घर के डेरा: घर नं २' को कथा 'कर्णाली ब्लुज', 'एक्लो' र 'फिरफिरे' उपन्यासका लेखक बुद्धि सागरले लेखेका हुन्। यो उनको पहिलो फिल्म हो।
फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रूविना घिमिरे, रमेश बुढाथोकी, हरिहर शर्मा लगायतका कलाकारहरूको अभिनय छ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा यो फिल्म निर्माण भएको हो। यसको निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्।
कृष्णबहादुर थापाको छायांकन रहेको फिल्म नहकुल खड्काले सम्पादन गरेका हुन्। 'के घर के डेरा: घर नं २' जेठ २ गतेदेखि सिनेमा घरहरूमा लाग्नेछ।