हलमा 'पिताम्बर', 'अञ्जिला', 'वसन्त' लगायतका नेपाली फिल्महरू प्रदर्शनरत छन्।
यीमध्ये 'पिताम्बर' चैत २९ मा रिलिज फिल्म हो भने अन्य त्यसअघि प्रदर्शनमा आएका फिल्महरू हुन्। वैशाख लागेसँगै कुनै नयाँ नेपाली फिल्म रिलिज भएका छैनन्। आउने शुक्रबारदेखि भने नयाँ फिल्म रिलिज हुँदैछन्।
वैशाख १२ मा 'भूठान' र 'खेल'
आउने शुक्रबार अर्थात वैशाख १२ गते 'भूठान' र 'खेल' गरेर दुई नेपाली फिल्म रिलिज हुँदैछन्।
'भूठान' विनोद पौडेल निर्देशित फिल्म हो। 'बुलबुल' फिल्मबाट निकै तारिफ पाएका उनको यो फिल्म 'भूठान' ले अमेरिका पुगेका भूटानी शरणार्थीको कथा भन्छ।
फिल्ममा हरिवंश आचार्य शीर्ष भूमिकामा छन्। साथमा दयाहाङ राई, अदिति प्याकुरेल, जोयस पाण्डे, ऋचा घिमिरे, पूजा चन्द, अनुराधा मजुमदार, बिमल सुवेदी, टम क्रेन र ब्रुस डर्न लगायतको अभिनय छ।
फिल्मको निर्माता अविरल थापा, राजेन्द्र ठाकुरथी, अमिताभ जोशी, सुशांक मैनाली, विनोद पौडेल र कीर्तना बाँस्कोटा हुन्।
त्यस्तै, 'खेल' लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका हुन्। यो फिल्ममा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, समापिका गौतम, मिथिला शर्मा, भोलाराज सापकोटा लगायतको अभिनय छ। पौराणिक कथा, मित्रता, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रण यसमा रहेको बताइएको छ।
यो फिल्मको निर्मातामा लुइसराज महर्जन र आशिषराज महर्जन छन्।
वैशाख १९ मा 'झिल्को'
'झिल्को' डिजिटल कुलतले बालबालिकामा देखिने समस्या र त्यसले परिवार तथा समाजमा पार्ने असरलाई देखाउने फिल्म हो। यसअघि 'झोला' जस्तो चर्चित फिल्म बनाएको टिमले सामाजिक कथामै रहेर फिल्म 'झिल्को' बनाएको हो।
यादव भट्टराईको निर्देशनमा बनेको फिल्ममा आयुषी ढकाल, सुनील पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जाहन्वी बस्नेत लगायतको अभिनय छ। निर्देशक भट्टराईले अरूणदेव जोशी र देव व्रतसँग मिलेर यसको पटकथा तयार पारेका हुन्।
फिल्मको निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य हुन्।
२६ मा 'ऊनको स्वीटर' र 'जार'
'ऊनको स्वीटर' नवीन चौहानले निर्देशन गरेका हुन्। म्युजिकल फिल्ममार्फत दर्शकको मन जितेको आर्टमाण्डू प्रा.लिको यो पहिलो फिचर फिल्म समेत हो।
मौलिक प्रेमकथामा बनेको यो फिल्ममा विपिन कार्की र मिरूना मगर शीर्ष भूमिकामा छन्। साथमा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरूङ, प्रेम सुब्बा, सुरज तमु लगायत कलाकारहरूको पनि अभिनय छ।
त्यस्तै, अर्को फिल्म 'जार' साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म हो। फूर्वा छिरिङ लामाको निर्देशन रहेको यो फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय अभिनेत्री गीताञ्जली थापाको अभिनय छ।
होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा यो फिल्म निर्माण भएको हो।