सांगीतिक ब्यान्ड '१९७४ एडी' ले नेपालमा 'अन्तिम कन्सर्ट' गरेको छ। शनिबार बौद्धको ह्यात ग्राउन्डमा उनीहरूले अन्तिम कन्सर्ट 'रकयात्रा २' गरेका थिए।
सन् २००२ मा ब्यान्डले दशरथ रंगशालामा 'रकयात्रा’ को पहिलाे संस्करण गरेको थियो। २३ वर्षअघिकाे उक्त कन्सर्ट सकिएपछि ब्यान्डको जीवनमा धेरै उतारचढाव आयो। अनेक आरोह-अवरोह झेल्दै ब्यान्डको सन् २०१९ मा पुनर्मिलन भयो। त्यसपछि धेरैपटक विदेश यात्रा गरसिकेको भए पनि ब्यान्डले नेपालमा बिरलै आउटडोर कन्सर्ट गरेको थियो।
सन् २०१४ यता ३० औँ वर्षगाँठको अवसरमा ब्यान्डले अमेरिका, बेलायत, अस्ट्रेलिया, कोरिया लगायत देशमा कन्सर्ट गर्यो। त्यसपछि ब्यान्डले 'रकयात्रा २' लाई ३० वर्षे टुरको अन्तिम संस्करण भन्दै प्रचार गरेको थियो।
यही ब्यान्डलाई सुन्न शनिबार बेलुका ह्यातको चौरमा हजारौ दर्शक सहभागी थिए।
एड्रियन प्रधान (भोकल र ड्रम्स), फिरोज स्याङ्देन (भोकल्स र गीतार), निराकार याकथुम्बा (बास र पृष्ठ गायन), मनोजकुमार केसी (गीतर, किबोर्ड), सञ्जय श्रेष्ठ (पर्कुसन, ड्रम्स) र मनोज सिंह (बाँसुरीबादक) भएको यस ब्यान्डले शनिबार आफ्ना थुप्रै चर्चित गीत सुनाए।
'तिमीलाई परितीले बाँधौँला’, 'छुँदैन तिम्रो मायाले’, 'परेलीमा’, 'सम्बोधन’, 'नेपाली हो’, 'गुँरासै फुल्यो’ लगायत गीतमा दर्शकहरू करिब तीन घण्टा झुमेका थिए।
ब्यान्डका संस्थापक निराकारले नेपालमा अब यही स्तरको कार्यक्रम गर्न व्यवस्थापकीय झमेला हुने बताए।
'ब्यान्डको तीनजना सदस्य अर्थात् भोकलस्टिद्वय फिरोज र एड्रयिन अनि बाँसुरीबादक मनोज सिंह अमेरिकामा बसोबास गर्छन्। हामी म्युजिक त बनाउँला तर अब नेपालमा ठूलो कन्सर्ट गर्न गाह्रो हुन्छ,' उनले भावुक हुँदै भने, 'नेपालमा कन्सर्ट गर्दा टिकट बेच्न पनि धेरै गाह्रो हुन्छ।'