मल्टिस्टारर एक्सन फिल्म 'पिताम्बर' को ट्रेलर सार्वजनिक गरिएको छ।
मंगलबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा शीर्ष कलाकार प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राईको एक्सनलाई विशेष स्थान दिइएको छ।
कृषा चौलागाईं निर्देशित यो फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, अनुपविक्रम शाही, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, प्रमोद अग्रहरि, आर्यन सिग्देल, गौरी मल्ल, रविन्द्र झालगायत कलाकारहरूको अभिनय छ।
‘ऐंचोपैंचो’ डेब्यु निर्देशक चौलागाईंको यो दोस्रो निर्देशकीय फिचर फिल्म हो। केपी फिल्म्स र पुरूषोत्तम प्रधान फिल्म्सको ब्यानरमा ‘पिताम्बर’ बनेको हो।
विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरूषोत्तम प्रधान, आध्या लामिछाने र आरोह चौलागाईं सह-निर्माता छन्। सुमन गौतम कार्यकारी निर्माता रहेको फिल्मको पटकथा र संवाद प्रदीप भारद्वाज र अभिमन्यु निरवीले लेखेका हुन्।
फिल्ममा पुरूषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ।
यो फिल्म नेपाली नयाँ वर्षको अवसर पारेर चैत २९ गतेदेखि प्रदर्शन हुनेछ।