आगामी जेठ १५ गतेदेखि रिलिज हुने फिल्म 'महाभोज' को पहिलो गीत सार्वजनिक भएको छ।
मंगलबार क्लक वर्क क्रियशन युट्युब च्यानलमार्फत फिल्ममा समावेश 'मख्खै परेँ' बोलको गीत सार्वजनिक गरिएको हो। कौडा भाकाको गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा संगीत रहेको छ भने ससिका राईले स्वरमा साथ दिएकी छन्।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतले कौडा नृत्य गरिरहेका छन्। यसका साथै अभिनेता आर्यन सिग्देल र अभिनेत्री सुरक्षा पन्तको आकर्षक उपस्थिति रहेको छ। गीतका कोरियोग्राफर मौसम हिमाली हुन्।
दिनेश राउतको निर्देशनमा बनेको फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, बसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारको छ। फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस फिल्मका निर्माता हिमाल कडरिया हुन्।