फिल्म 'अञ्जिला' दर्शकले रूचाएपछि यसकी मुख्य कलाकार एन्जिला तुम्बापो सुब्बा पूर्वी नेपालका विभिन्न फिल्म हलहरूमा पुगेकी छन्।
शुक्रबार बिहान ग्रिसबाट काठमाडौं आएकी एन्जिलाले दिउँसो काठमाडौंको छाया सेन्टरस्थित क्युएफएक्स सिनेमाजमा दर्शकहरूसँग भेटघाट गरेकी थिइन्। सोही दिन साँझ इटहरीको इलाइट सिनेमा हलमा पुगेर दर्शकहरूसँग अन्तरक्रिया गरिन्।
शनिबार बिहान उनी विराटनगरको क्युएफएक्स सिनेमाजमा उपस्थित भइ दर्शकहरूसँग संवाद गरेपछि दिउँसो धरानको फ्रेन्डस् सिनेमाजमा पुगिन्। धरानमा उनलाई लिम्बू संस्कृतिको च्याब्रुङ नाचद्वारा सम्मानपूर्वक हलमा प्रवेश गराइएको थियो।
त्यस अवसरमा उनले एन्फा एकेडेमीका विद्यार्थीहरूसँग भेटघाट गरिन् र धरानमा जारी २५ औं गोधुली फुटबल कपमा पनि सहभागी भइन्।
धरानमा दर्शकहरूसँग भेट्दै उनले धरान खेलकुद र कलाकारितामा सम्पन्न सहर भएको बताइन्। एन्जिलाले धरानमा एन्फा एकेडेमीको उपस्थिति, बुढासुब्बा गोल्ड कप र वडा स्तरीय गोधुली कपजस्ता प्रतियोगिताहरूको आयोजनाले धरानलाई खेलकुदको उर्वर भूमि बनाएको धारणा राखिन्।
धरान फुटबल क्लबले एन्जिला र फिल्मका निर्माता तथा एन्जिलाका गड फादर प्रेमकुमार श्रेष्ठलाई सम्मान समेत गरेको थियो।
'अञ्जिला' का निर्देशक मिलन चाम्सले काठमाडौंपछि धरान नेपाली फिल्मलाई अत्यधिक माया गर्ने सहर भएको बताउँदै, धरानमा फिल्म हिट भए देशभरि नै सफल हुने धारणा व्यक्त गरे।
'अञ्जिला' मा एन्जिलाको आमाको भूमिकामा सशक्त अभिनय गरेकी कलाकार सिर्जना सुब्बाले एन्जिलासँग आमा–छोरीजस्तै सम्बन्ध रहेको बताउँदै, दर्शकहरूसँग सँगै भेट्न पाउँदा खुसी व्यक्त गरिन्।
एन्जिला आइतबार पनि पूर्वी नेपालमै रहनेछिन्। आइतबार दिउँसो १ बजेसम्म झापाको बिर्तामोड र २ बजेपछि दमकमा दर्शकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको निर्देशक चाम्सले जानकारी दिए। पूर्वी नेपाल भ्रमणका क्रममा एन्जिलालाई सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गरेको छ।
एन्जिला केही महिनायता ग्रिसमा नै रहेकी थिइन्। उनी ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी थिइन्। फिल्म प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन्।
फिल्म 'अञ्जिला' मा एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ।
फिल्ममा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरूङ, सुमीन गुरूङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ।
फिल्मले १३ दिनमा गत मंगलबारसम्म ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माणपक्षले जनाएको छ।
'अञ्जिला' मा समावेश गीत 'रात किन हुन्छ हजुर' पनि यतिबेला स्रोता/दर्शकमाझ निकै चर्चित छ।