आठौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट सुरू भएको छ।
'विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' भन्ने नारा रहेको महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले उद्घाटन गरे।
राष्ट्रिय सभाका अध्यक्ष दाहालले विश्व फिल्मको बजारमा प्रतिस्पर्धा गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूलाई चिनाउन यस्ता कार्यक्रमको आवश्यकता रहेको बताए। उनले नेपालको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यतालाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गर्न आवश्यक रहेको औल्याए।
उनले भने, 'आठ वर्षदेखि अन्तर्राष्ट्रिय फिल्मलाई नेपाली पर्दामा प्रस्तुत गर्दै आउनु निफको विशिष्टता हो। विश्व फिल्मकर्मी र फिल्मसँग सम्बन्धित पक्षलाई एकैठाउँमा ल्याउन निफले महत्वपुर्ण भुमिका खेलेको छ।'
नेपालका लागि पाकिस्तानका राजदुत अब्रार एच हासमीले नेपाली फिल्म र नेपालको विविधतायुक्त संस्कृति पाकिस्तानीहरूका लागि मात्र नभएर विश्वका लागि प्रेरणाको श्रोत बन्न सक्ने बताए। उनले भने, 'सांस्कृतिक आदानप्रदान गर्न पाकिस्तानी र नेपाली फिल्म निर्माता, कलाकारबीच सहकार्यको आवश्यक छ।'
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले नेपाली फिल्मलाई विश्व मञ्चमा जोडने माध्यमको रूपमा निफ भएको बताए। पर्यटन र फिल्म क्षेत्रको अन्तरसम्बन्धले नेपालमा विदेशी पर्यटकहरू भित्रयाउन मद्धत पुग्ने उनको भनाइ छ।
बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाले बागमती प्रदेशले नेपाली फिल्म क्षेत्रमा महत्वपूर्ण अवसर खोजिरहेको बताए। समारोहको पहिलो दिन मीनबहादुर भाम निर्देशित फिल्म 'शाम्बाला' प्रदर्शन भएको थियो। महोत्सवमा ४० देशका ८७ वटा फिल्म छानिएका छन्।
महोत्सवमा देखाइने फिल्महरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा प्रदर्शन भइसकेका छन्। आगामी शनिबार हुने रसियन फिल्म डेमा रूसका तीनवटा फिल्म प्रदर्शन हुनेछ। यसपटक महोत्सवमा तीनवटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप गरिएको छ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई एक हजार पाँच सय अमेरिकी डलर राशीसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ। सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिने छ।