गत बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म 'अञ्जिला' ले हलमा दर्शकको उत्साहजनक साथ पाएको छ।
प्रदर्शनको सुरूवाती दिनदेखि नै अकुपेन्सी सुखद् रहेपछि हलले पनि फिल्मको शो संख्या बढाउँदै लगेका छन्।
वितरक करण श्रेष्ठका अनुसार, फिल्मले प्रदर्शनको पहिलो दिन १०५ शो पाएको थियो। शुक्रबार ११४ हुँदै शनिबार १३४ शो पाएको फिल्मले मंगलबारसम्म आइपुग्दा १७० भन्दा बढी शो पाएको वितरक श्रेष्ठले बताए।
यसले फिल्मप्रति दर्शकको सकारात्मक प्रतिक्रिया र मागलाई स्पष्ट पारेको छ।
यो फिल्मको माउथ पब्लिसिटी सकारात्मक छ। सकारात्मक प्रतिक्रिया र दर्शकको फिल्मप्रतिको आकर्षणका कारण थप शोहरू प्राप्त गरेको निर्देशक मिलन चाम्सले बताए।
'अञ्जिला' नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेर बनेको फिल्म हो। कठिन पारिवारिक परिवेशबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर काठमाडौं छिरेकी एन्जिलाको प्रेरणादायी जीवनयात्रालाई यसमा देखाइएको छ। राष्ट्रिय महिला फुटबल टोलीको कप्तानीसम्मको उनको यात्रालाई पर्दामा देख्दा दर्शकहरू भावुक बनेका छन्।
फिल्ममा शीर्ष भूमिकामा एन्जिला आफैले अभिनय गरेकी छिन्। माओत्से गुरूङ, दयाहाङ राई, सिर्जना सुब्बा, सुमिन गुरूङ, सुनील थापा, बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायत कलाकारहरूको यसमा अभिनय छ।
फिल्मले पहिलो तीन दिनमा २ करोड ७ लाख रूपैयाँको व्यापार गरेको रिपोर्ट निर्माताले सार्वजनिक गरिसकेका छन्।
'अञ्जिला' को निर्माता प्रेमकुमार श्रेष्ठ हुन्।