काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले फिल्म 'लाज शरणम्' हेरेका छन्। यो फिल्ममा उनले गाएको 'नेपाल हाँसेको' गीतले निकै चर्चा पाएको थियो।
बालेनले दरबारमार्गमा रहेको क्युएफएक्स हलमा सोमबार बेलुका ६ बजेको शोमा फिल्म हेरेका हुन्।
फिल्म हेरेपछि उनले सकारात्मक प्रतिक्रिया दिए। उनले अभिनेता सीताराम कट्टेल (धुर्मुस)ले पात्रको लागि गरेको मेहनतको खुलेर प्रशंसा गरे।
उनले सँगै रहेका धुर्मुसलाई अँगाल्दै भने, 'एकदमै राम्रो काम गर्नुभएको छ। म पनि कलाकार नि त, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने हुन्छ। हेरिरहँदा एकदमै मज्जा आयो।'
कुमार कट्टेल निर्देशित 'लाज शरणम्' देशभरका हलमा दोस्रो सातामा प्रदर्शनरत छ।
फिल्ममा सीताराम सहित विजय बराल, अर्पण थापा, सागर लम्साल, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, कमलमणि नेपाल, महेश त्रिपाठी लगायतको अभिनय छ।
'लाज शरणम्' ले सन्तोषजनक व्यापार गरिरहेको छ।