यादवकुमार भट्टराई निर्देशित फिल्म 'झिल्को' को टिजर सार्वजनिक गरिएको छ।
'झोला' बनाएर चर्चा कमाएका निर्देशक भट्टराईले 'झिल्को' मा मोबाइलको लतले समाजमा पार्ने असरको कथा भनेका छन्। सोमबार सार्वजनिक टिजरमा मोबाइलको लतले बालबालिकामा पारेको असर चित्रण गरिएको छ।
टिजरमा विशेषगरी अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ। यसमा मोबाइलका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबीचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा गुम्सिँदै गएका पात्रहरूको कथा झल्किन्छ।
निर्देशक भट्टराईले सामाजिक विषयवस्तुमा आधारित फिल्महरू निर्देशन गर्दै आएका छन्।
'झोला' मा सती प्रथाको कथा उठाएका उनले 'भोर' मा दाइजो प्रथाको कथा देखाएका थिए। 'झिल्को' मा आयुषी ढकाल, सुनील पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय देख्न छ।
'झिल्को' को कथा र पटकथा निर्देशक भट्टराईले अरूणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका हुन्। निर्मातामा सुशीला आचार्य र रामगोपाल थापा छन् भने कार्यकारी निर्माता उमेश पौडेल हुन्। दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ।
फिल्म आगामी वैशाख १९ गते रिलिज हुने तयारीमा छ।